अक्टोबरमा अमेरिकाबाट ३८ जना नेपाली डिपोर्ट


प्रकाशित मिति : कार्तिक १६, २०८२ आईतबार

डिपोर्टेशन उडानका क्रममा जाँच गर्दै आइस अधिकारी

अक्टोबरमा अमेरिकाबाट ३८ जना नेपाली डिपोर्ट भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार सन् २०२५ को अक्टोबर महिनामा डिपोर्ट भएका ३८ जना नेपालीमध्ये ४ जना महिला र ३४ जना पुरुष छन्। सन् २०२५ को जनवरी २० देखि अक्टोबर  ३१ सम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता कुल ३०६ जना नेपाली डिपोर्ट भएका तथ्यांक छ, जसमा २६० जना पुरुष र ४६ जना महिला छन्।

राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै अमेरिकाबाट देशनिकाला हुने नेपालीको संख्यामा वृद्धि भएको छ। कागजातबिना बसोबास गर्ने आप्रवासीहरूलाई लक्षित ट्रम्प प्रशासनको नीतिका कारण ठूलो संख्यामा नेपालीहरू देशनिकालाको जोखिममा परेका छन्। तथ्यांकअनुसार सन् २०२५ मा जनवरीमा ६ जना, फेब्रुअरीमा १८ जना, मार्चमा ३२ जना, अप्रिलमा २६ जना, मेमा ५८ जना, जुनमा ४२ जना, जुलाईमा १७ जना, अगस्टमा १६ जना, सेप्टेम्बरमा ५३ जना र अक्टोबरमा ३८ जना नेपाली डिपोर्ट भएका हुन्।

डिपोर्ट भएका व्यक्तिहरूलाई अध्यागमन विभागले थप अनुसन्धानका लागि मानव बेचबिखन ब्यूरोलाई जिम्मा लगाउने गरेको छ। मानव बेचबिखन ब्यूरोले प्रारम्भिक अनुसन्धान गरेपछि अधिकांशलाई केही साधारण सोधपुछ गरेर आफन्तको जिम्मा लगाउने गरेको छ। तर कसैले ब्यूरोमा लिखित निवेदन दिएमा विस्तृत अनुसन्धान अघि बढाइने गरेको छ।

नेपालीको टीपीएस र त्यसका आधारमा प्राप्त वर्क परमिट सन् २०२५ को अगस्ट २० पछि अमान्य भइसकेको युएससीआईएसले जनाएको छ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले नेपालको टीपीएस समाप्त गरेको र अगस्ट २० मा नवौं सर्किट अदालतले समाप्ति स्थगित गर्ने तल्लो अदालतको आदेशलाई रोक लगाएकाले टीपीएसको समाप्ति प्रभावकारी बनाउने अनुमति मिळेको उल्लेख गर्दै, उक्त मितिबाट टीपीएस सुविधा लागू नभएको जनाएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

होमल्याण्ड सेक्युरिटीले टीपीएस नवीकरण नगर्ने घोषणा गरेपछि टीपीएसमा रहेका धेरै नेपाली अमेरिका छोड्ने अवस्थामा पुगेका छन्। हाल अमेरिकामा ७ हजारभन्दा बढी टीपीएसधारी नेपाली रहेका छन्, जसमध्ये आधाभन्दा बढीको एसाइलम वा अन्य पेन्डिङ स्टाटस भएकाले तत्काल देशनिकालाको जोखिममा छैनन्। तर, पहिले नै देशनिकालाको आदेश पाइसकेका टीपीएसधारी नेपाली भने तत्काल देशनिकालाको जोखिममा परेका छन्।

नेपालले डिपोर्ट भएका आफ्ना नागरिकहरूलाई सहज रूपमा स्वीकार गर्दै आएको छ। अमेरिकी अध्यागमनले देशनिकालामा परेका नेपालीको लागि ट्राभल डकुमेन्ट अनुरोध गरेपछि वासिङ्टन डीसीस्थित नेपाली दूतावासले ती कागजात सहजै उपलब्ध गराउँदै आएको छ। राष्ट्रपति ट्रम्पले आफ्ना नागरिकलाई स्वीकार नगर्ने देशहरूलाई कारबाही गर्ने चेतावनी दिँदै आएका छन्। तर नेपालले आफ्ना नागरिकलाई स्वीकार गर्ने नीतिलाई निरन्तरता दिएकोले अमेरिकासँग कुनै कूटनीतिक तनाव उत्पन्न भएको छैन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com