युद्ध अन्त्य र आप्रवासनलाई सम्बोधन गर्न असफल भएको भन्दै ट्रम्पले गरे राष्ट्र संघको आलोचना
प्रकाशित मिति : आश्विन ६, २०८२ मंगलबार
डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको महासभामा युद्ध अन्त्य गर्न र आप्रवासनका मुद्दाहरू समाधान गर्न असफल भएको भन्दै कडा आलोचना गरे। फोटो: राजन काफ्ले /खसोखास
युद्ध अन्त्य गर्न र आप्रवासन सम्बन्धी सरोकारहरूलाई सम्बोधन गर्न असफल भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको आलोचना गरेका छन् । मध्य पूर्व र युरोपमा युद्धहरू निरन्तर चलिरहँदा अमेरिका र विदेशमा रहेका यसका सहयोगीहरूका लागि तनावपूर्ण अवधिमा ट्रम्पले राष्ट्र संघमा सम्बोधन गरेका हुन् ।
ट्रम्पले संयुक्त राष्ट्र संघलाई असफल भएको भन्दै आलोचना गर्नुका साथै एक घण्टा लामो भाषणमा सदस्य राष्ट्रहरूले कसरी असफलता पाइरहेका छन् भनेर प्रवचन दिएका थिए । संयुक्त राष्ट्र संघको औचित्यमाथि प्रश्न उठाउँदै ट्रम्पले आफूलाई विश्वका समस्याहरू समाधान गर्न सक्ने एकमात्र नेताका रूपमा प्रस्तुत गर्ने प्रयास गरेका थिए । आफू यो काममा राम्रो रहेको तर अन्य देशहरू तहसनहस हुँदै गरेको उनले बताए ।
गाजा, सुडान र युक्रेनमा युद्ध चलिरहेका बेला संयुक्त राष्ट्र संघको ८०औं वार्षिकोत्सवमा आयोजित महासभामा ट्रम्पले विश्वभरका द्वन्द्वहरू आफूले समाधान गरेको तर संयुक्त राष्ट्र संघले केही नगरेको दाबी गरे । उनले वातावरणविद्हरूलाई सबै गाईहरू मार्न चाहेको आरोप लगाउका साथै लन्डनका मुस्लिम मेयरलाई व्यक्तिगत रूपमा अपमान गरेका थिए । साथै पश्चिमा मुलुकमा मुस्लिमहरू शरिया कानून लागू गर्ने योजनामा रहेको दाबी समेत उनले गरे।

इजरायल र इरान, कम्बोडिया र थाइल्यान्ड, र आर्मेनिया र अजरबैजानबीचको द्वन्द्व अन्त्य गरेको श्रेय लिँदै ट्रम्पले युक्रेनमा रुसको आक्रमणको लागि आफ्ना पूर्ववर्ती जो बाइडेनलाई फेरि दोष लगाए। उनले रुसबाट तेल खरिद गर्ने भएकाले चीन र भारतले युक्रेन युद्धलाई आर्थिक सहयोग गरिरहेको पनि बताए। उनले यदि मस्कोले युद्धविराममा सहमति नजनाएमा रुस र त्यसका तेल ग्राहकहरूमाथि थप शुल्क लगाउन तयार रहेको बताए, तर युरोपले पनि रुसी तेल र ग्यासको सबै खरिद अन्त्य गरेमा मात्र यसो गर्ने बताए।
बाइडेनमाथि निशाना साध्नुका साथै ट्रम्पले अन्य राजनीतिक विरोधीहरू र प्यालेस्टिनी राष्ट्रलाई मान्यता दिने निकट नाटो सहयोगीहरूलाई पनि निशाना बनाए।
ट्रम्पले जलवायु परिवर्तनको चिन्तालाई ठगी भएको बताए भने उनले विश्वव्यापी तापक्रम घटाउने अन्तर्राष्ट्रिय सम्झौताहरूले स्वतन्त्र संसारको धेरैजसो भागलाई विनाश गरिरहेको बताए ।
हलमा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टब, ब्राजिलका राष्ट्रपति लुइ इनासियो लुला दा सिल्भा र अन्य नेताहरूले राष्ट्रपति ट्रम्पको भाषण सुनेका थिए । छ वर्षअघि सभामा आफ्नो अन्तिम सम्बोधनदेखि यता आफूले दुई महादेशमा स्थापित गरेको शान्तिलाई युद्धका बन्दुकहरूले चकनाचुर पारेको उनले बताए । उनले सात महिनामा सात युद्ध र द्वन्द्वको अन्त्य गर्ने आफ्नै प्रयासहरूको प्रशंसा गरेका थिए ।
आफ्नो भाषणपछि ट्रम्पले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस, साथै युक्रेन, अर्जेन्टिना र युरोपेली संघका नेताहरूसँग भेट्ने कार्यक्रम रहेको थियो, जहाँ राष्ट्रपतिले धेरै देशहरू उनीहरूको हरित ऊर्जा परियोजनाहरूका कारण विनाशको कगारमा उभिएको बताएका थिए । ह्वाइट हाउसका प्रेस सचिव कारोलिन लेभिटले सोमबार पत्रकारहरूलाई बताएअनुसार उनी कतार, साउदी अरेबिया, इन्डोनेसिया, टर्की, पाकिस्तान, इजिप्ट, संयुक्त अरब इमिरेट्स र जोर्डनसँगको बहुपक्षीय बैठकमा पनि भाग लिनेछन्।








