अमेरिकन अभियानकर्ताको मृत्युमा खुशी मनाउने वा हल्का टिप्पणी गर्नेको भिसा रद्द वा अस्वीकार गरिने
प्रकाशित मिति : भाद्र २६, २०८२ शुक्रबार
ट्रम्प प्रशासनले अमेरिकन अभियानकर्ता चार्ली कर्कको हत्यालाई लिएर खुसी मनाउने वा हल्का टिप्पणी गर्ने विदेशीहरूको भिसा खारेज गर्ने वा नयाँ भिसा अस्वीकार गर्ने चेतावनी दिएको छ । विदेश मन्त्रालयका उच्च अधिकारीले सामाजिक सञ्जालमा पोस्ट गर्दै कन्सुलर अधिकारीहरूलाई उपयुक्त कदम चाल्न निर्देशन दिएका छन्।
सामाजिक सञ्जालमा केही व्यक्तिले यस घटनाको प्रशंसा गरेको, उचित ठहराएको वा हल्का रूपमा लिएको देखेर आफूलाई घृणा लागेको र आफूले कन्सुलर अधिकारीहरूलाई उपयुक्त कदम चाल्न निर्देशन दिएको उनले बताएका छन् । उनले यस्ता टिप्पणीहरू गर्ने विदेशीहरूको जानकारी आफूलाई दिन अनुरोध गर्दै विदेश मन्त्रालयले अमेरिकी जनताको रक्षा गर्न कदम चाल्ने बताएका छन् ।
एक विदेश मन्त्रालयका प्रवक्ताले पनि ट्रम्प प्रशासनले अमेरिकाको राष्ट्रिय सुरक्षा हितसँग मेल नखाने व्यक्तिहरूलाई भिसा दिनु नहुने विश्वास गर्ने बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा विदेश मन्त्रालयले धेरै भिसा आवेदकहरूको सामाजिक सञ्जालको स्क्रिनिङ र जाँच बढाएको छ। यसका लागि आवेदकहरूले आफ्नो अनलाइन प्रोफाइल सार्वजनिक राख्नुपर्छ र मन्त्रालयले उनीहरूको पोस्टहरूमा कुनै पनि अमेरिका विरोधी वा यहुदी विरोधी सामग्री भए नभएको जाँच गर्दछ।
यस वर्षको सुरुमा विदेशमन्त्री मार्को रुबियोले हमासलाई समर्थन गरेको पाइएका अन्तर्राष्ट्रिय विद्यार्थी र अन्य विदेशीहरूको भिसा खारेज गर्ने घोषणा गरेका थिए।
यद्यपी प्रशासनले यसबारे कानुनी चुनौतीहरूको भने सामना गरेको छ। प्रशासनले भिसा विदेश मन्त्रालयको विवेकमा दिइने र यो विदेशी नागरिकको अधिकार नभई अवशर भएको तर्क गर्दै आएको छ।
डोनाल्ड ट्रम्पका एक निकट सहयोगी मानिने चार्ली कर्कको बुधबार यूटाहको एक विश्वविद्यालयमा बोल्दै गर्दा हत्या भएको थियो । ३१ वर्षीय परम्परावादी अभियानकर्मीको घाँटीमा एउटा गोली लागेको थियो। त्यसलगत्तै अस्पताल लगिएका उनलाई केही घण्टापछि ट्रम्पले मृत घोषणा गरेका थिए।








