न्युयोर्कमा आइसको छापा: ठूलो सङ्ख्यामा कामदार पक्राउ
प्रकाशित मिति : भाद्र २०, २०८२ शनिबार
अमेरिकाको न्युयोर्कमा सङ्घीय आप्रवासन अधिकारीहरू (आइस) ले छापा मारेर ठूलो सङ्ख्यामा कामदारलाई नियन्त्रणमा लिएका छन्।
राज्यको अपस्टेट क्षेत्रमा रहेको परिवारले सञ्चालन गरेको पौष्टिक बार उत्पादन गर्ने एक कम्पनीमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो। करिब ६० जना कामदार त्यहाँबाट पक्राउ परेका छन्।
पक्राउ परेका कामदारहरू कुन देशका हुन् भन्ने खुलाइएको छैन। आइस का अधिकारीहरूले अनुसन्धानपछि पूर्ण विवरण सार्वजनिक गर्ने बताएका छन्। आइस ले यो कारबाही अदालतको अनुमतिमा गरिएको बताएको छ। करिब ६० जना कामदार त्यहाँबाट पक्राउ परेका छन्।
कम्पनीका सह-सञ्चालकका अनुसार करिब १०० एजेन्टहरूले उक्त प्लान्टलाई घेराबन्दी गरेका थिए। उनीहरू केही पैदल र केही गाडीमा आएका थिए। कुकुरसमेत लिएर आएका आप्रवासन अधिकारीहरू जबर्जस्ती प्लान्टभित्र पसेका थिए।
सिराक्युजबाट करिब ३० माइल टाढा रहेको सिटो नामको ग्रामीण क्षेत्रमा यो कारखाना अवस्थित छ। यस कारखानामा घण्टौँसम्म छापा मारेर दर्जनौँ कामदारलाई पक्राउ गरिएको हो।
आप्रवासन अधिकारीहरूले हिस्पानिक कामदारहरूलाई मात्रै निशाना बनाइरहेको देखिएको छ। पक्राउ परेका उनीहरूलाई भ्यानमा राखेर लगिएको थियो।
हिस्पानिक कामदार भन्नाले स्पेनिस भाषा बोल्ने वा ल्याटिन अमेरिकी मुलुकहरू (जस्तै: मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोर, पेरु, कोलम्बिया आदि) बाट आएका आप्रवासी वा तिनका सन्तानलाई बुझिन्छ । जो प्रायः श्रमिकका रूपमा काम गर्छन्।
अमेरिकामा हिस्पानिक कामदारहरूको ठूलो सङ्ख्या कृषि, निर्माण, उत्पादन, रेस्टुरेन्ट, होटल, घरेलु काम लगायतका क्षेत्रहरूमा संलग्न रहेको छ।
उनीहरूलाई सस्तो ज्यालामा कडा मेहनत गर्ने कामदारका रूपमा चिनिन्छ। यद्यपि, प्रायः आप्रवासनसम्बन्धी कागजात र अधिकारको अभावका कारण उनीहरू जोखिममा पर्ने गरेका छन्।
कम्पनी सन् १९७८ देखि सञ्चालनमा रहेको छ र कम्पनीका सबै कामदार कानुनअनुसार भर्ना गरिएको कम्पनीले दाबी गरेको छ।
न्युयोर्ककी गभर्नर क्याथी होचुलले उक्त छापाको कडा शब्दमा आलोचना गर्दै यसलाई आप्रवासी परिवारमाथिको क्रूर प्रहार भएको बताएकी छन्।
छापाका कारण केही घण्टाका लागि उत्पादन पूर्ण रूपमा रोकिएको थियो। अहिले उत्पादन फेरि सुरु भए पनि आधा क्षमतामा मात्र चलिरहेको छ।
राष्ट्रपति ट्रम्पले भने पक्राउ परेकाहरू कागजातविहीन आप्रवासी रहेको बताएका छन्। उनले आइस ले उनीहरूलाई पक्राउ गरेर राम्रो काम गरेको बताएका छन्।
आइस ले जर्जियामा रहेको हुन्डाई कम्पनीमा छापा मारेर ४७५ जना कागजातविहीन आप्रवासी कामदारलाई पक्राउ गरेको थियो। पक्राउ परेका अधिकांश दक्षिण कोरियाका कामदार रहेको बताइएको छ।
चुनावी अभियानमा ट्रम्पले कागजातविहीन आप्रवासीहरूले अमेरिकी नागरिकको रोजगारी खोस्ने गरेको दाबी गर्दै कडाइ गर्ने वाचा गरेका थिए।
राष्ट्रपति पदमा फर्किएपछि उनले देशभर व्यापक अभियान सुरु गरी कागजातविहीन आप्रवासीलाई पक्राउ गर्ने, हिरासतमा राख्ने र देश निकाला गर्ने अभियान चलाएका छन्।








