बिनाभिसा अमेरिका प्रवेश गरेको २ बर्ष नाघेकालाई पनि विनाधरौटी हिरासतमा राख्नुपर्ने अदालतको निष्कर्ष


प्रकाशित मिति : भाद्र २०, २०८२ शनिबार

लुजियानामा आप्रवासीहरूलाई हिराशतमा राख्न बनाइएको क्याम्प ५७ को बाहिर सुरक्षाकर्मीहरू पैदल गस्ती गर्दै (एपी फोटो/जेराल्ड हर्बर्ट)

अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसको शक्तिशाली अपिल प्यानल बोर्ड अफ इमिग्रेशन अपिल बीआईएले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूलाई अध्यागमन न्यायाधीशले धरौटीमा रिहा गर्न नसक्ने फैसला गरेको छ। यो निर्णयले दशकौंदेखिको कानूनी बुझाइलाई उल्ट्याएको छ।

यसले गर्दा लाखौं आप्रवासीहरूलाई अनिवार्य हिरासतमा राख्नुपर्ने हुन सक्छ। जसका कारण उनीहरूले आफूलाई अमेरिकामा बस्ने राम्रो आधार हुँदाहुँदै पनि स्वेच्छाले देश छोड्ने सम्भावना बढ्ने वकिलहरुले बताएका छन्।

पहिले गैरकानुनी रूपमा विनाभिसा अमेरिका प्रवेश गरेका तर दुई वर्षभन्दा बढी समयदेखि अमेरिकामा बसोबास गरेको देखाउन सक्ने विदेशीहरूले अध्यागमन न्यायाधीशसँग धरौटीमा रिहा हुन अनुरोध गर्न सक्थे। तर बोर्ड अफ इमिग्रेशन अपिलको शुक्रवारको निर्णयले विनाभिसा अमेरिका प्रवेश गर्ने जो कोहीलाई पनि अनिवार्य रूपमा हिरासतमा राख्नुपर्ने निष्कर्ष निकालेको छ।

यो निर्णय ट्रम्प प्रशासनले आप्रवासीहरूलाई अनिवार्य हिरासतमा राख्ने आफ्नो व्याख्या परिवर्तन गरेको दुई महिनापछि आएको हो। प्रशासनले दशकौंदेखि अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीहरूलाई पनि पक्राउ गरेर हिरासतमा राख्ने नीति लिएको छ। यस परिवर्तनले गर्दा नियमित अदालतको सुनुवाइ वा संघीय अधिकारीहरूसँगको चेकइनमा जाँदै गरेका आप्रवासीहरूलाई पनि पक्राउ गरिएको छ, जबकि उनीहरूले पहिले कुनै खतरा वा भाग्ने जोखिम नभएको अध्यागमन अदालतले निर्णय गरिसकेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संघीय न्यायाधीशहरूले प्रशासनको यो व्याख्यालाई गैरकानुनी भन्दै बारम्बार खारेज गर्दै आएका थिए। तर बोर्ड अफ इमिग्रेशन अपिलको यो निर्णयले परिस्थितिलाई जटिल बनाएको छ।

यो निर्णय संघीय अध्यागमन अदालतहरूका लागि बाध्यकारी छ। यी अदालतहरूले अध्यागमन मुद्दाहरूको सुनवाई गर्छन् । बीआईएसहित अध्यागमन अदालतका निर्णयहरूलाई एटोर्नी जनरलले उल्ट्याउन सक्छन् । किनभने अध्यागमन अदालतहरु उनको माताहतमा रहन्छन् ।

बीआईएको शुक्रवारको फैसला भेनेजुएलाका जोनाथन जाभियर याजुरे हुर्ताडोको मुद्दामा आएको हो। उनी सन् २०२२ को नोभेम्बरमा विनाभिसा मेक्सिकोबाट टेक्सास प्रवेश गरेका थिए। पछि उनले टीपीएस पाएका थिए, जुन अप्रिलमा समाप्त भयो। त्यसपछि उनलाई अध्यागमन अधिकारीहरूले हिरासतमा लिएका थिए । याजुरेले बीआईएको निर्णयविरुद्ध सान फ्रान्सिस्कोस्थित ९औं सर्किट कोर्ट अफ अपिल्समा अपिल गर्न सक्छन्।

यो निर्णयले नेपालीहरुलाई पनि ब्यापक प्रभाव पार्नसक्छ । किनभने विनाभिसा अमेरिका प्रवेश गरेका हजारौं नेपालीहरुका मुद्दा अदालतमा विचाराधिन रहेका छन् भने उनीहरु अमेरिकामा रिहा भएर मुद्दा लडिरहेका छन् । अध्यागमन अदालतमा नेपालीका ९ हजार ६ सय २८ मुद्दाहरु विचाराधिन रहेका छन् । जसमध्ये न्युयोर्कमामात्र नेपालीका ३५४४ मुद्दाहरु विचाराधिन रहेका छन् ।

राष्ट्रपति जो बाइडनको कार्यकालमा मात्र लगभग ९ हजार नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । उनीहरु दलाललाई हजारौं डलर तिरेर विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमा सुरक्षा गस्तीले फेला पारेकाहरु हुन् । सिमा सुरक्षा गस्तीले फेला नपारिकनै अमेरिका प्रवेश गर्नेहरुको रेकर्ड डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँग छैन ।

अघिल्लो ट्रम्प प्रशासन अन्तर्गतको चार वर्षमा कुल १,८५० नेपालीहरु  विना भिसा अमेरिका प्रवेश गरेका थिए । त्यसको तुलनामा बाइडेनकालमा विनाभिसा प्रवेश गर्नेहरुको संख्यामा झण्डै ५ गुणा बृद्धि भएको थियो ।  आर्थिक बर्ष २०२४ मा सबैभन्दा धेरै ३६९० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांकले देखाएको छ ।

आर्थिक बर्ष २०२३ मा ३१४० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए । आर्थिक बर्ष २०२५ को अक्टोबरमा ४४० र नोभेम्बरमा ३ सय नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको थियो ।

२०१४ देखि २०२२ सम्मको ९ बर्षमा केवल ५१९० नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सीबीपीको जम्काभेटमा परेका थिए । तर २०२२ को अक्टोबरपछिका २ आर्थिक बर्ष अर्थात् २४ महिनामा ६८३० नेपालीहरु यसरी विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।

आर्थिक बर्ष २०२२ मा १४९० र २०२१ मा ४२० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए । अघिल्लो ट्रम्प प्रशासन अन्तर्गत चार वर्षमा कुल १८५० नेपालीलाई विनाभिसा प्रवेश गरेका थिए, जस अन्तरगत २०१७ मा ६५०, २०१८ मा ७२०, २०१९ मा ३४० र २०२० मा १४० जनामात्र रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ ।

२०१४ मा ४७०, २०१५ मा ४१० र २०१६ मा ५५० नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमा सुरक्षा गस्तीको जम्काभेटमा परेका थिए । उनीहरु दलाललाई हजारौं डलर तिरेर विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमा सुरक्षा गस्तीको जम्काभेटमा परेका हुन् । तीमध्ये कतिपय तत्काल अमेरिकामा रिहा भएका थिए भने कतिपयलाई अध्यागमन हिराशतमा राखिएको थियो । त्यसमध्ये केही अमेरिकाबाट देशनिकालामा समेत परेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com