ग्वाटेमालाका दर्जनौं नाबालिग आप्रवासीलाई डिपोर्ट नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश


प्रकाशित मिति : भाद्र १४, २०८२ आईतबार

brown wooden tool on white surface

फोटो : टिन्गी इन्जुरी ल फर्म

अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई ग्वाटेमालाका दर्जनौं नाबालिग आप्रवासी बालबालिकालाई जबरजस्ती फिर्ता पठाउन रोक लगाएका छन् ।

वकिलहरूले ती बालबालिकालाई विमानमा चढाएर ग्वाटेमाला पठाउन लागिएको भन्दै उजुरी दर्ता गरेपछि न्यायाधीश स्पार्कल सुकेकोनानले अस्थायी रूपमा रोक लगाउने आदेश दिएकी हुन् । वकिलहरूको भनाइअनुसार, ग्वाटेमालामा ती बालबालिका दुर्व्यवहार र उत्पीडनको जोखिममा पर्न सक्थे ।

यी बालबालिकाहरू एक्लै अमेरिका पुगेका थिए र अहिले सरकारको संरक्षणमा छन् । उनीहरूको आप्रवासनसम्बन्धी दाबीको अमेरिकामा मूल्याङ्कन भइरहेको छ ।

अमेरिकी न्याय मन्त्रालयका वकिलहरूले भने बालबालिकालाई निर्वासन नभई “पुनर्मिलन”का लागि पठाइँदै गरेको दाबी गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आप्रवासी अधिकारकर्मी समूहहरूले आपत्कालीन आदेश माग गर्दै करिब ६०० बालबालिकालाई टेक्सासबाट विमानमार्फत ग्वाटेमाला पठाउन सकिने दाबी गरेका थिए । त्यसपछि न्यायाधीश सुकेकोनानले पहिलो आदेश जारी गर्दै १० देखि १७ वर्ष उमेरका १० बालबालिकालाई पठाउन रोक लगाइन् ।

आकस्मिक सुनुवाइमा उनले आदेशलाई विस्तार गर्दै सबै जोखिममा रहेका नाबालिग आप्रवासीहरूलाई समेट्ने गरी १४ दिनसम्मको अस्थायी प्रतिबन्ध जारी गरिन् ।

सुनुवाइमा न्यायाधीशले ट्रम्प प्रशासनका वकिलहरूसँग विमान उडिसकेको हो कि भनेर प्रश्न गरिन् । न्याय सहायक उपमहानिर्देशक ड्र्यु एन्साइनले सबै विमान अमेरिकामा नै रहेको र एउटा उडे पनि पुनः फर्किएको बताए ।

उनले यो प्रक्रिया निर्वासन नभई परिवारसँग पुनर्मिलनका लागि भएको र ग्वाटेमाला सरकार तथा परिवारकै अनुरोधमा गरिएको दाबी गरे । तर, अधिकारकर्मीहरूले यो दाबी असत्य भएको बताएका छन् ।

वकिलहरूले अदालतमा दर्ता गरेका कागजातमा यो कदम संघीय कानुनको उल्लङ्घन भएको उल्लेख गरिएको छ । अमेरिकामा एक्लै आएका बालबालिकालाई सुरक्षा दिने व्यवस्था रहेको छ ।

ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि आफ्नो चुनावी वाचा अनुसार कागजातविहीन आप्रवासीहरूलाई हटाउन ठूला कदम चाल्दै आएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com