के बच्चा १४ बर्ष पुगेपछि ग्रिनकार्ड प्रतिस्थापनका लागि आवेदन दिनुपर्छ? नदिए के हुन्छ?
प्रकाशित मिति : भाद्र १३, २०८२ शनिबार
यदि तपाईंको बच्चाले १४ वर्ष भन्दा पहिले नै ग्रिनकार्ड प्राप्त गरेको छ भने उनीहरुका लागि एक विशेष अध्यागमन नियम छ । उक्त नियम अनुशार उनीहरुको ग्रिनकार्डको म्याद १६ बर्ष नाघेपछि सकिदैछ भने बच्चा १४ बर्ष पुगेको ३० दिनभित्र आई ९० फर्म भरेर ग्रिनकार्ड प्रतिस्थापनका लागि आवेदन दिनुपर्ने हुन्छ ।
१४ वर्ष नपुग्दै कुनै बच्चाले ग्रिनकार्ड पाएमा उक्त बच्चालाई सामान्यतया १० वर्षको लागि मान्य ग्रिन कार्ड जारी गरिन्छ । तर १४ वर्ष मुनिका बालबालिकालाई ग्रिनकार्ड जारी गर्दा बायोमेट्रिक्स प्रदान नगरिने भएकाले १४ वर्ष पुगेपछि प्रतिस्थापनका लागि आवेदन दिन आवश्यक हुने कानुन व्यवसायीहरुको सुझाव छ ।
यदि बच्चाको ग्रिन कार्ड उनीहरूको १४ औं जन्मदिन अघि जारी गरिएको थियो र १६ औं जन्मदिन पछि म्याद सकिन्छ भने उनीहरूको १४ औं जन्मदिन पछि ३० दिन भित्र फारम आई ९० दायर गर्नुपर्छ। यसरी युएससीआईएसले नाबालिगहरू आवश्यक उमेर पुगेपछि बायोमेट्रिक्स सङ्कलन गर्छ।
समयमै फाइल गरेमा आई ९० को लागि लाग्ने शुल्क छुट हुनेछ । तर बायोमेट्रिक्स शुल्क भने अझै पनि लागू हुन सक्छ। अर्थात् बच्चा १४ वर्ष पुगेको ३० दिन भित्र आई ९० फाइलिङ शुल्क लाग्दैन तर ३० दिन भन्दा बढी ढिलो भएमा पूर्ण शुल्क तिर्न आवश्यक हुन्छ । अर्थात् कागजी रुपमा फाइल गर्दा ४६५ र अनलाइनबाट फाइल गर्दा ४१५ डलर शुल्क लाग्नेछ ।
यदि बच्चा १४ वर्ष वा माथिको छ भने तपाईंले बच्चाको नाममा युएससीआइएएसमा अनलाइन अकाउन्ट बनाएर फर्म आई ९० फाइल गर्न सक्नुहुन्छ। साथै अभिभावकको अनलाइन अकाउन्ट प्रयोग गरेर पनि फाइल गर्न सकिन्छ। विशेष गरी बच्चा युएससीआईएसको प्रणालीसँग परिचित छैन अभिभावकको एकाउन्ट प्रयोग गर्न सकिन्छ ।
यदि तपाईंले ३० दिनभित्र फाइल गर्न छुटाउनुभएको खण्डमा पनि बच्चाको स्थायी बासिन्दाको कानुनी स्थितिलाई भने असर गर्दैन। तिनीहरू कानुनी स्थायी बासिन्दा नै रहन्छन्। यद्यपि तपाईंले शुल्क छूट पाउनुहुनेछैन भने तपाईंले आई ९० फर्म भर्दा पूर्ण शुल्क तिर्नुपर्नेछ। साथै बायोमेट्रिक्स पनि दिनुपर्नेछ । ३० दिनभित्र छुटाएकाहरुका लागि कुनै औपचारिक जरिवाना वा नयाँ म्याद नभएपनि सकेसम्म चाँडो फाइल गर्नु बुद्धिमानी हुने कानुन व्यवसायीहरुको सुझाव छ ।
ढिलो फाइलिङले केबल लागत थपिने बाहेक कानुनी परिणामहरू ननिम्त्याउने कानुन व्यवसायीहरु बताउँछन् । त्यसैले ३० दिनको म्याद छुटेपनि नआत्तिन बरु छिटो फाइल गर्न सुझाव दिइएको छ । यद्यपी यात्रा गर्दा अमेरिकी भन्सार तथा सीमा सुरक्षा सीबीपीका अधिकारीहरूले पुरानो ग्रिन कार्डको जाँच गर्न सक्छन्, जसले गर्दा अमेरिकामा पुन प्रवेश गर्दा ढिलाइ वा समस्याहरू हुन सक्छन्। म्याद सकिएको छैन भने पुनप्रवेशको लागि उक्त ग्रिन कार्ड अझै पनि प्रयोग गर्न सकिन्छ, तर पुरानो फोटोले चिन्ता बढाउन सक्छ।
यदि तपाईंको बच्चा १४ वर्षको भएपछि ग्रिन कार्ड जारी गरिएको थियो वा ग्रिन कार्डको म्याद उनीहरूको १६ औं जन्मदिन अघि समाप्त हुने भएमा वा बच्चाले पहिले नै अर्को कारणले फारम आई ९० बुझाइसकेको भएमा भने यो नियम लागु हुँदैन । त्यस्ता अवस्थामा म्याद सकिनु अघि तपाईंले सामान्यतया गर्ने जस्तै ग्रिन कार्ड नवीकरण गर्नुपर्छ ।








