अमेरिकी नागरिकता आवेदकबारे बुझ्न युएससीआईएसले छिमेकी र सहकर्मीसँग अन्तर्वार्ता लिने
प्रकाशित मिति : भाद्र १०, २०८२ बुधबार
ट्रम्प प्रशासनले अब अमेरिकी नागरिकताको लागि आवेदन दिने केही आप्रवासीहरूकाबारेमा बुझ्न उनीहरुका छिमेकीहरू र सहकर्मीहरूसँग अन्तर्वार्ता लिन सुरु गर्ने भएको छ । सन् १९९१ देखि प्रयोगमा नआएको अभ्यासलाई पुनर्स्थापित गर्ने गरी युएससीआईएसले नयाँ मेमो जारी गरेको हो । यस्ता व्यक्तिगत अनुसन्धानहरूको आवश्यकतामा लामो समयदेखि रहेको छूटको अन्त्य गरिएको युएससीआईएसले जनाएको छ ।
१९६५ को आप्रवासन तथा नागरिकता ऐन अनुशार छिमेकी जाँचहरू आवश्यक भएपनि अमेरिकी सरकारले १९९० को दशकदेखि यसलाई लागू गरेको थिएन । बरु, अमेरिकी अधिकारीहरूले पृष्ठभूमि जाँचहरू गर्न एफबीआईमा भर पर्दै आएका छन् ।
अब प्रत्येक आवेदनका लागि स्वविवेकका आधारमा छिमेकी जाँचहरू सञ्चालन गरिने भएको छ । यसमा आवेदकको निवास र रोजगारीको इतिहासको पाँच वर्षको अवधिको जाँच गरिनेछ।
यी अनुसन्धानहरूको उद्देश्य आवेदकको निवास, राम्रो नैतिक चरित्र र अमेरिकी संविधानप्रतिको लगावलाई जाँच गरेर नागरिकताको लागि उनीहरूको योग्यता पुष्टि गर्नु रहेको युएससीआईएसले जनाएका छ । युएससीआईएसले छिमेकी अनुसन्धान आवश्यक भएन नभएको निर्णय गर्न आवेदकहरूबाट थप जानकारी अनुरोध गर्न सक्ने जनाइएको छ । यसमा छिमेकीहरू, रोजगारदाताहरू, र सहकर्मीहरूबाट पत्रहरू समावेश हुन सक्छन्, जसले आवेदकको बारेमा प्रमाणित जानकारी प्रदान गर्न सक्छन्।
आवेदकहरूले नागरिकता आवेदनसँगै त्यस्ता प्रमाण पहिले नै पनि पेस गर्न सक्छन्, जसले युएससीआईएसलाई अनुसन्धानबाट छुट दिने कि नदिने भन्ने निर्णय गर्न मद्दत गर्न सक्छ। यदि कोही व्यक्तिले यस्तो प्रमाण पेस गर्न असफल भएमा छिमेकी अनुसन्धान हुन सक्छ, जसले नागरिकताको लागि उनीहरूको योग्यता स्थापित गर्ने क्षमतालाई असर गर्न सक्छ।
यो नीति तत्काल लागू भएको छ । यो परिवर्तन ट्रम्प प्रशासनले कानुनी आप्रवासन प्रक्रियालाई कडा बनाइरहेको सन्दर्भमा पछिल्लो कदम हो। हालैका महिनाहरूमा ट्रम्प प्रशासनले विद्यार्थी भिसा। डिभी लटरी लगायतमा पनि नयाँ आवश्यकताहरू लागू गरेको छ । साथै केही प्रस्तावित नियमहरु समेत ल्याएको छ ।








