२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अध्यागमन

भिजिटर भिसामा अमेरिका आउनेबित्तिकै अनलाइनमा डिजिटल “आई ९४” जाँच गर्न सुझाव

कानुन व्यवसायी बासु फुलारा । फोटो: राजन काफ्ले

कानुन व्यवसायीहरुले गैर आप्रवासी भिसा खासगरी भिजिटर भिसामा अमेरिका आउने बित्तिकै अनलाइनमा डिजिटल आई ९४ जाँच गर्न र प्रिन्ट गरेर निकाल्न सुझाव दिएका छन् । भिजिटर भिसामा अमेरिकामा आउने कतिपयलाई विमानस्थल वा पोर्ट अफ इन्ट्रीबाट अमेरिका प्रवेश गर्ने क्रममा सीबीपीले अमेरिका बस्न पूरै ६ महिनाको अवधिका लागि अनुमति नदिई त्योभन्दा कम समयका लागि पनि दिनसक्ने भएकाले अनलाइनमा आफ्नो आई ९४ मा अमेरिकी बस्ने अवधि जाँच गर्न सुझाव दिइएको हो ।

सीबीपीले अमेरिकामा आउने विदेशी नागरिकहरूको राहदानीमा प्रवेश छाप लगाउँदै आएकोमा त्यसलाई हटाएर डिजिटल बनाएका कारण यात्रुहरु झुक्किने गरेका छन् । कतिपय यात्रुहरुले आफूलाई ६ महिना अमेरिका बस्ने अनुमति दिएको अनुमान गर्दा ओभरस्टे हुने र अमेरिकी अध्यागमनको पक्राउमा पर्ने घटनाहरु समेत भइरहेका छन् । जसका कारण अमेरिकाबाट देशनिकाला हुनेमात्र नभई भविश्यमा अमेरिका प्रवेशमा समेत रोक लाग्ने गरेको छ ।

न्युयोर्क निवासी कानुन व्यवसायी बासु फुलारा भन्छन्, “आफ्नो कानुनी अभ्यासमा मैले अमेरिकामा बी१ बी२ भिसामा आउने आगन्तुकहरूले बारम्बार गर्ने एउटा महँगो गल्ती देखेको छु, त्यो हो अमेरिका पुग्नेबित्तिकै आफ्नो आई ९४ रेकर्ड जाँच नगर्नु। धेरै यात्रुहरूले भिजिटर भिसाले आफूलाई अमेरिकामा छ महिना बस्न पाउने अधिकार दिन्छ भन्ने ठान्छन्। तर यो सही होइन। भिसाले व्यक्तिलाई अमेरिकामा प्रवेशका लागि अनुरोध गर्ने अनुमति मात्र दिन्छ। वास्तविक अधिकार अमेरिकी भन्सार तथा सीमा सुरक्षा सीबीपीद्वारा जारी गरिएको आई ९४ आगमनरप्रस्थान रेकर्डमा हुन्छ। त्यो रेकर्डले मात्र कानुनी रूपमा बस्ने अवधिलाई निर्धारण गर्छ।”

कानुन व्यवसायी बासु फुलाराले आफ्नो कानूनी अनुभव सुनाउँदै भने, “मैले यस्ता मुद्दाहरू हेरेको छु जहाँ यात्रुहरूले आफूसँग छ महिना छ भनेर ठानेपनि सीबीले उनीहरुलाई अमेरिका बस्नका लापग निकै कम समय दिएको पछिमात्र पत्ता लाग्यो । कसैलाई ९० दिन त कसैलाई ३० दिन मात्र दिइएको रहेछ । जब उनीहरूले आफ्नो रेकर्ड जाँच गरे, तबसम्म उनीहरूको बस्ने म्याद सकिसकेको थियो अर्थात् उनीहरु ओभरस्टे भइसकेका थिए । जसले गर्दा उनीहरूको अमेरिकामा गैरकानुनी उपस्थिति भयो। यसका दूरगामी परिणामहरू हुन्छन् । भिसा रद्द हुने, भविष्यमा भिसा पाउन गाह्रो हुने, र धेरै वर्षसम्म अमेरिकामा पुनः प्रवेशमा प्रतिबन्ध लाग्नेसम्मका समस्याहरू आउँछन्।”

भर्जिनियाको डलेस अन्तर्राष्ट्रिय विमानस्थलमा सीबीपीका अधिकारीहरूले अन्तर्राष्ट्रिय यात्रुहरूको जाँच गर्दै। तस्बिर: ग्लेन फसेट

अमेरिका प्रवेश गर्नेबित्तिकै सीबीपीको वेवसाइटमा गएर आफ्नो आई ९४ रेकर्ड तुरुन्तै जाँच गर्न, आफ्नो रेकर्डका लागि त्यसको एक प्रतिलिपि सुरक्षित गर्न प्रिन्ट गर्न, दिइएको भन्दा बढी समय आवश्यक भएमा आई ९४ को म्याद सकिनुभन्दा पहिले युएससीआईएससँग बस्ने म्याद बढाउनका लागि आवेदन दिन उनले सुझाव दिएका छन् ।

कतिपय भिजिटरहरुले आफ्नो पासपोर्टमा ५ बर्षको भिसा रहेको उल्लेख गर्दै एकपटक अमेरिका प्रवेश गरेपछि भिसा स्टीकरमा रहेको पूरै म्याद अमेरिकामा बस्न पाइने गलत अनुमान समेत गर्दै आएका छन् । तर अमेरिकामा कति समयसम्म कानुनी रूपमा बस्न सकिने भन्ने कुरा भिसा स्ट्याम्पले नभई आई ९४ रेकर्डले निर्धारण गर्ने कुरा कानुन व्यवसायी फुलाराले दोहोराएका छन् ।

परम्परागत रूपमा हवाई वा समुद्री मार्गबाट ​​अमेरिका आइपुगेका विदेशी नागरिकहरूलाई उनीहरूको कागजातहरूको निरीक्षण पछि पासपोर्टमा छाप लगाइने वा कागजी रुपमा आई ९४ जारी गरिदै आएको थियो । तर सीबीपीले कागजी प्रतिलिपिहरूको सट्टा आई ९४ को इलेक्ट्रोनिक संस्करणहरू प्रयोग गर्न थालेपछि कतिपय भिजिटरहरु सीबीपीले झुक्किएर छाप नलगाएको हो कि भन्ने भ्रममा समेत पर्ने गरेका छन् । केही बर्षदेखि लागु नयाँ नीति अनुशार अमेरिकी हवाई र पोर्टहरुमा आउने भिजिटरहरुले पासपोर्टमा कुनै छाप प्राप्त गर्दैनन् । यसको सट्टा तिनीहरूले केवल एक इलेक्ट्रोनिक आई ९४ प्राप्त गर्छन् ।

इलेक्ट्रोनिक आई ९४ अमेरिका प्रवेश गरेलगत्तै अनलाइन वा एप्लीकेशनमार्फत प्राप्त गर्न सकिन्छ । यदि विदेशी नागरिकले आई ९४ को भौतिक प्रतिलिपि चाहेमा सीबीपीको वेबसाइट वा मोबाइल एपबाट प्रतिलिपि प्रिन्ट गर्न सक्छन्। भौतिक प्रतिलिपि पनि अमेरिका प्रवेश गर्ने क्रममा निरीक्षणको क्रममा अनुरोध गर्न सकिन्छ तर त्यसका लागि थप चरणहरू आवश्यक पर्दछ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

विगतमा केही गैर आप्रवासीहरूका लागि रोजगार योग्यता प्रमाणीकरण गर्न र पहिचानका लागि पासपोर्ट र त्यसमा लगाएको छाप पर्याप्त थियो। तर पासपोर्टमा छापहरु जारी नगरिंदा इलेक्ट्रोनिक आई ९४ विदेशी नागरिकहरूका लागि रोजगारको उद्देश्यका लागि वैध स्थितिको एकमात्र प्रमाण भएको छ । आई ९४ ले काम गर्ने योग्य भएको प्रमाणिकरण उद्देश्यका लागि विदेशी नागरिकको अध्यागमन स्थिति र म्याद सकिने मितिलाई नियन्त्रित गर्छ। विदेशी नागरिकहरू आई ९४ मा स्वीकृत मितिभन्दा बढी अमेरिकामा बस्नु हुँदैन । त्यसैले विदेशी आप्रवासीहरुले प्रत्येक पटक अमेरिका प्रवेश गरेपछि सधैं आफ्नो आई ९४ डाउनलोड गर्नुपर्छ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →