२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अध्यागमन

अमेरिकामा नेपालीको टीपीएस र वर्क परमिट अगस्त २० पछि अमान्य

नेपालीको टीपीएस र त्यसका आधारमा प्राप्त वर्क परमिट अगस्त २० पछि अमान्य भएको युएससीआईएसले आज जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले नेपालको टीपीएस समाप्त गरेको र अगस्ट २० मा नवौं सर्किट अदालतले समाप्ति स्थगित गर्ने तल्लो अदालतको आदेशलाई रोक लगाएकाले टीपीएसको समाप्ति प्रभावकारी बनाउन अनुमति मिलेको उल्लेख गर्दै अगस्ट २०, २०२५ देखि टीपीएस सुविधाहरू लागू नरहेको युएससीआईएसले जनाएको छ ।

युएससीआईएसले टीपीएस सम्बन्धि पेजबाट नेपालबारेको जानकारी समेत हटाएको छ । अगस्त २० पछि टीपीएस समाप्त भएको युएससीआईएसको विवरणपछि अमेरिकामा टीपीएसमा रहेका नेपालीहरु अन्यौलमा परेका छन् । अगस्त २० पछिको उनीहरुको गैर कानुनी स्थीति गणना हुने नहुनेबारे उनीहरु अन्यौलमा परेका हुन् । उनीहरुमध्ये कतिपयको रोजगार र ग्रिनकार्डमा आधारित पिटिसनहरु स्वीकृत भएर ग्रिनकार्डका लागि भिसा करेन्ट हुने प्रतिक्षामा रहेका छन् ।

अगस्त २० मा अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनलाई नेपाली लगायत निकारागुआ, होन्डुरसका नागरिकको टीपीएस समाप्त गर्ने बाटो खुला गरेको थियो । गत महिना तल्लो अदालतले तीन देशहरूको लागि टीपीएस समाप्त गर्न ट्रम्प प्रशासनलाई कम्तिमा नोभेम्बर १८ सम्म रोक लगाएको थियो । तर अगस्त २० मा पुनरावेदन अदालतले त्यो फैसलालाई स्थगित गरेको हो ।

गत महिनाको फैसला अघि ट्रम्प प्रशासनले अगस्ट ५ मा नेपालको लागि र सेप्टेम्बरको सुरुमा निकारागुआ र होन्डुरसको लागि टीपीएस समाप्त गर्न खोजेको थियो। तर
अमेरिकाको संघीय अदालतले नेपालको टीपीएस खारेजी नोभेम्बर १८ सम्मका लागि स्थगित गरेपछि युएससीआईएसले उक्त आदेश मान्दै नेपालीका वर्क परमिटका अवधि नोभेम्बर १८ सम्मका लागि लम्बाएको थियो । तर अब त्यसलाई अगस्त २० सम्म छोट्याएको छ ।

तल्लो अदालतले नोभेम्बर १८, २०२५ को दिउँसो २ बजे प्रारम्भिक निषेधाज्ञा सुनुवाइ गर्दैछ । नेशनल टीपीएस एलायन्स र सात व्यक्तिगत वादीहरूले जुलाई ७, २०२५ मा ट्रम्प प्रशासनको विरुद्ध मुद्दा दायर गरेका थिए। यो मुद्दाले होन्डुरस, नेपाल र निकारागुआका नागरिकहरूको लागि टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयलाई चुनौती दिएको थियो । मुद्दाले प्रशासनिक प्रक्रिया ऐनको उल्लङ्घन, जातीय द्वेषका कारण संवैधानिक उल्लङ्घन, र पर्याप्त संक्रमण अवधिको प्रावधानमा असफलताको आरोप लगाएको थियो ।

नेपाली वादीहरूमा सान फ्रान्सिस्कोमा बस्ने ३३ वर्षीय नेपाली एसके रहेका छन्। ती टीपीएस वाहक अमेरिकी नागरिकसँग विवाह बन्धनमा बाँधिएका छन् र थिएटरमा काम गर्छन्। त्यस्तै अर्का नेपाली वादी सन्ध्या लामा हुन्। भर्जिनियामा बस्ने ४३ वर्षीय यी नेपाली आफ्ना तीन अमेरिकी नागरिक बच्चाहरूको लागि एक मात्र अभिभावक हुन्, जसमध्ये एक बच्चालाई विशेष चिकित्सा उपचार आवश्यक छ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →