ओरल्यान्डो सहरमा बनाइएको क्रसवाक हटाइयो, समलैंगिक समुदायको विरोध


प्रकाशित मिति : भाद्र ४, २०८२ बिहीबार

अमेरिकाको फ्लोरिडामा रहेको ओरल्यान्डो सहरमा बनाइएको इन्द्रेणी रङ्गको क्रसवाक हटाइएको छ।

सन् २०१६ मा भएको पल्स नाइटक्लब गोलीकाण्डका पीडितहरूको सम्झनामा बनाइएको इन्द्रेणी रङ्गको उक्त क्रसवाक राज्यको यातायात मन्त्रालयले मेटाइदिएको हो।

यो क्रसवाकमा इन्द्रेणी रङ्गहरू प्रयोग गरेर ४९ जनाको सम्झना गरिएको थियो। उनीहरू सन् २०१६ मा गे नाइटक्लबमा भएको आक्रमणमा मारिएका थिए। त्यसबेला यो गोलीकाण्डलाई अमेरिकी इतिहासको सबैभन्दा ठूलो सामूहिक गोलीकाण्ड भनिएको थियो।

ओरल्यान्डोका मेयर बड्डी डायरले सामाजिक सञ्जालमा यसलाई “क्रूर राजनीतिक कदम” भन्दै कडा आपत्ति जनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्रसवाकले केवल पैदल यात्रुहरूको सुरक्षामा सहयोग गर्ने मात्र नभई ओरल्यान्डो सहरले ती ४९ जनाको सम्झना गर्ने प्रतिबद्धताको प्रतीकका रूपमा काम गरिरहेको भन्दै उनले विरोध जनाएका हुन्।

फ्लोरिडाका समलैंगिक राज्य सिनेटर कार्लोस गुइलेर्मो स्मिथले राज्यको यातायात मन्त्रालयले सहरको अनुमतिबिना मध्यरातमै यो इन्द्रेणी रङ्गको क्रसवाक हटाएर अवैध रूपमा तोडफोड गरेको बताएका छन्।

गभर्नर रन डीसान्टिसले ‘एक्स’ मा प्रतिक्रिया दिँदै भने, “हामी हाम्रो राज्यका सडकहरूलाई राजनीतिक प्रयोजनका लागि कब्जा गर्न दिनेछैनौँ।”

डीसान्टिस सन् २०२४ मा राष्ट्रपति पदका लागि उम्मेदवार बनेका रिपब्लिकन नेता हुन्। उनी पहिलेदेखि नै एलजीबीटीक्यूआइए+ समुदायविरुद्धको धारणा राखेको भन्दै आलोचित हुँदै आएका छन्।

सन् २०२३ मा उनले विवादास्पद “डोन्ट से गे” भन्ने कानुन विस्तार गर्ने पहल गरेका थिए, जसअनुसार फ्लोरिडाका सार्वजनिक विद्यालयहरूमा यौन शिक्षा र लैङ्गिक पहिचानबारे पढाउन प्रतिबन्ध लगाइएको थियो।

हालैका महिनाहरूमा फ्लोरिडाको यातायात निकायले विभिन्न सहरहरूलाई “इन्द्रेणी क्रसवाक नराखे मात्र यातायात कोष सुरक्षित हुने” चेतावनी दिइरहेको छ।

सडकमा सामाजिक, राजनीतिक वा विचारधारात्मक सन्देश वा चित्र राख्न पाइँदैन, किनभने तिनीहरूले ट्राफिक नियन्त्रणको उद्देश्य पूरा गर्दैनन् भनेर यातायात मन्त्रालयले भन्दै आएको छ।

अमेरिकी यातायात मन्त्री सिन डफीले पनि जुलाईमा सबै ५० राज्यलाई पत्र पठाउँदै सार्वजनिक सडकबाट इन्द्रेणी क्रसवाक हटाउन निर्देशन दिएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com