दशकौंपछि अमेरिकाको आप्रवासी जनसंख्यामा पहिलो पटक गिरावट


प्रकाशित मिति : भाद्र ४, २०८२ बिहीबार

न्युयोर्कको ज्याक्सनहाइट, जहाँ नेपाली आप्रवासी समुदायको बाहुल्य रहेको छ । जिम हेन्डरसन/विकिमीडिया कमन्स

प्यू रिसर्च सेन्टरले बिहिबार गरेको जनगणनाको तथ्यांक विश्लेषणअनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा अमेरिकामा करिब १५ लाख आप्रवासीहरूको संख्या घटेको छ। अमेरिका छाड्ने आप्रवासीहरूको संख्या आउनेहरूको भन्दा बढी भएपछि दशकौंपछि पहिलो पटक अमेरिकामा आप्रवासीहरूको संख्यामा कमी आएको हो ।

राष्ट्रपति ट्रम्पको आप्रवासनसम्बन्धी कडा नीतिका कारण मानिसहरू स्वैच्छिक रूपमा वा देशनिकालाबाट अमेरिका छाड्न बाध्य भएको अवस्थामा प्यू रिसर्च सेन्टरले बिहीबार सार्वजनिक गरेको नयाँ जनगणनाको तथ्यांकको विश्लेषणअनुसार जुन महिनामा अमेरिकामा आप्रवासीहरूको संख्या ५ करोड १९ लाख थियो, यो संख्या ६ महिनाअघि ५ करोड ३३ लाख थियो।

ट्रम्प प्रशासनका अधिकारीहरूले यस गिरावटलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले यसले सरकारी सेवाहरूमा परेको दबाब कम भएको र रोजगारी बजारमा सुधार आएको दाबी गरेका छन्। आप्रवासीसम्बन्धी कडाइका केही समर्थकहरूले भने यो अझै पर्याप्त नभएको बताएका छन्।

तर विज्ञहरूले यो प्रवृत्ति जारी रहेमा अमेरिकाको अर्थतन्त्र र जनसांख्यिकीमा नकारात्मक असर पर्न सक्ने चेतावनी दिएका छन्। आप्रवासीहरू धेरै क्षेत्रहरूका लागि महत्त्वपूर्ण कार्यशक्ति हुन् । बेबी बुमर्स पुस्ताका मानिसहरू सेवानिवृत्त हुँदै जाँदा आप्रवासीहरुमाथिको निर्भरता बढ्दै गएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले ठूलो संख्यामा देशनिकालाको वाचासहितको चुनावी अभियान चलाएका थिए र त्यसपछि आप्रवासन घटाउन व्यापक कदमहरू चालेका छन्। उनको प्रशासनले दक्षिणी सीमामा शरणार्थीहरूलाई दिइने पहुँचमा कडाइ गरेको छ भने विद्यार्थी र प्राविधिक कामदारहरूको लागि भिसा आवश्यकताहरू कडा बनाएको छ । साथै कागजातविहीन आप्रवासीहरूलाई पक्राउ गर्न र देशनिकाला गर्न हजारौं संघीय एजेन्टहरू तैनाथ गरेको छ। यस कडाइका कारण धेरै आप्रवासीहरूले स्वैच्छिक रूपमा देश छाड्ने निर्णय गरेका छन् भने अरूलाई अमेरिका आउन निरुत्साहित गरिएको छ।

अर्थशास्त्रीहरुले आप्रवासनमा तीव्र गिरावटले आर्थिक क्षति पुर्याउने बताएका छन् । ट्रम्प प्रशासनको नीतिले विदेशी कामदारहरूलाई हटाउने काम जारी रहेमा अमेरिकाको विश्वव्यापी प्रतिभासँग प्रतिस्पर्धा गर्ने क्षमतामा कमी आउन सक्ने उनीहरुको भनाई छ ।

ट्रम्प प्रशासनले कानुनी आप्रवासनलाई समेत कमजोर बनाउने कदम चालेको छ। यसले शरणार्थी कार्यक्रम रोकेको छ भने भिसा आवेदकहरूको जाँचमा कडाइ गरेको छ। ट्रम्पले गत अगस्ट ४ मा सामाजिक सञ्जालमा यो सफलतालाई “वाचा पूरा भएको” बताएका थिए ।

विज्ञहरूका अनुसार यो गिरावट कडा नीतिहरूको प्रतिक्रिया स्वरूप आएको हो। अमेरिकामा जन्मदर घट्दै गएको र जनसंख्या बुढो हुँदै गएको अवस्थामा आप्रवासनले यो खाडल भर्न मद्दत गर्दछ। अर्थशास्त्रीहरुका अनुशार नयाँ बच्चाले २० वर्षपछि मात्र मद्दत गर्छ, तर एक युवा आप्रवासीले तुरुन्तै मद्दत गर्छ। आप्रवासी प्रवाहमा कटौतीले अमेरिकामा दैनिक जीवनमा असर पार्ने उनीहरुको भनाई छ ।

गिरफ्तारीहरू र हिरासत केन्द्रहरूको बढ्दो संख्याले आप्रवासी परिवारहरूमा डरको वातावरण सिर्जना गरेको छ। पक्राउ परेका धेरैले अदालतको फैसला पर्खनुको सट्टा छिटो निर्वासनमा जान सहमत भएका छन्। केही आप्रवासीहरूलाई दक्षिण सुडानजस्ता युद्धग्रस्त देशहरूमा पठाएको खबरले पनि मानिसहरूलाई जोखिम मोल्नुको सट्टा स्वैच्छिक रूपमा देश छाड्न प्रेरित गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com