अमेरिकामा चिनियाँ नागरिकलाई ८ वर्ष कैद,उत्तर कोरियामा हतियार तस्करी गरेको अभियोग


प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार

jail

अमेरिकामा एकजना चिनियाँ नागरिकलाई उत्तर कोरियामा हतियार तथा सैन्य सामग्री तस्करी गरेको आरोपमा आठ वर्षको जेल सजाय तोकिएको छ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार ४२ वर्षीय शेनहुआ वेनले क्यालिफोर्नियाबाट ती सामग्री पठाउनका लागि उत्तर कोरियाली अधिकारीहरूबाट करिब २० लाख डलर लिएका थिए।

सन् २०२४ को डिसेम्बरदेखि नै हिरासतमा रहेका वेनले यस वर्षको जुन महिनामा आफ्नो अपराध स्वीकार गरेका थिए।

सन् २०१२ मा विद्यार्थी भिसामा अमेरिका आएका वेनको भिसा २०१३ मा सकिए पनि उनी अवैध रूपमा त्यहीँ बसिरहेका थिए।

न्याय मन्त्रालयका अनुसार उनले अमेरिका आउनुअघि नै चीनमा रहेको उत्तर कोरियाली दूतावासका अधिकारीहरूसँग भेटेर उनीहरूको लागि सामान खरिद गर्ने निर्देशन पाएका थिए।

सन् २०२२ मा उत्तर कोरियाका दुई अधिकारीहरूले अनलाइन माध्यमबाट वेनसँग सम्पर्क गरेर अमेरिकाबाट हतियार र अन्य सामान तस्करी गर्न लगाएका थिए।

सन् २०२३ मा उनले क्यालिफोर्नियाको लङ बिच बन्दरगाहबाट चीन हुँदै उत्तर कोरिया पठाउन कम्तीमा तीनवटा हतियार कन्टेनर पठाएका थिए।

उनले हतियारबाहेक रासायनिक खतरा पहिचान गर्ने उपकरण र ब्रोडब्यान्ड रिसिभरजस्ता संवेदनशील प्रविधि पनि उत्तर कोरिया पठाउने प्रयास गरेका थिए।

संयुक्त राष्ट्र सुरक्षा परिषद् र अमेरिकाले लगाएको प्रतिबन्ध छलेर उत्तर कोरियाले हतियार व्यापार गर्ने गरेको यो घटनाले देखाएको छ। न्याय मन्त्रालयका अनुसार वेनले आफ्नो काम अवैध हो भन्ने कुरा थाहा पाएर पनि यस्तो कार्य गरेका थिए।

तर उत्तर कोरियाले यी प्रतिबन्धहरूलाई छल्ने तरिका विकास गरेको छ । २०१५ मा अमेरिकाले सिङ्गापुरस्थित एउटा शिपिङ कम्पनीलाई उत्तर कोरियाली अवैध हतियार ढुवानीमा संलग्न भएको आरोपमा कालोसूचीमा राखेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com