अमेरिका विरोधीको ग्रिनकार्ड लगायतका आवेदन अस्वीकार गर्ने नीति लागु
प्रकाशित मिति : भाद्र २, २०८२ मंगलबार
अमेरिकाको नागरिकता र अध्यागमन सेवा युएससीआइएएसले आफ्नो नीति पुस्तिका अपडेट गर्दै आवेदक अमेरिका विरोधी भए नभएको कडा जाँच गर्ने नीति लागु गरेको छ । अगस्ट १९, मंगलबारदेखि नै लागु भएको यस परिवर्तनले ग्रीन कार्ड, परोल लगायत अध्यागमन लाभहरूका लागि आवेदन दिने व्यक्ति अमेरिका विरोधी भए नभएकोबारे कडा जाँच गरिने भएको छ ।
यी परिवर्तनहरू सबै विचाराधीन र नयाँ आवेदनहरूमा तत्कालै लागू हुनेछन्। यसको मुख्य उद्देश्य अमेरिका विरोधी र यहूदी विरोधी गतिविधिहरूमाथि कडाईका साथ अनुसन्धान गर्नु रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । यसका अतिरिक्त युएससीआइएएसले यस्ता गतिविधिहरू पत्ता लगाउन सामाजिक सञ्जालको जाँच गर्ने कार्यलाई पनि विस्तार गरेको छ ।
युएससीआइएएसका अधिकारीहरूले ग्रिनकार्ड आवेदन, परोल र निश्चित वर्क परमिट आवेदनहरुमा केही हदसम्म तजविज अधिकार प्रयोग गर्न सक्ने भएकाले नयाँ नीतिले आवश्यक पर्ने आवेदनहरूको निर्णय गर्दा विचार गर्ने कारकहरूलाई स्पष्ट पारेको छ। यसको मुख्य ध्यान आवेदकले अमेरिका विरोधी वा आतंकवादी संगठनका विचारहरूलाई समर्थन, प्रचार, वा प्रोत्साहन दिएको प्रमाणमाथि केन्द्रित छ। यदि यस्तो प्रमाण भेटिएमा यसलाई अत्यन्तै नकारात्मक कारक मानिनेछ। यसमा यहूदी विरोधी आतंकवाद वा विचारहरूलाई बढावा दिने संगठनहरू पनि समावेश छन् ।
अधिकारीहरूलाई यस्ता गतिविधिहरूमा संलग्न आवेदकहरूका आवेदन अस्वीकार गर्दै अध्यागमन कानुनलाई पूर्ण रूपमा लागू गर्न निर्देशन दिइएको छ। युएससीआइएएसका प्रवक्ता म्याथ्यू ट्र्यागसरले अमेरिकालाई घृणा गर्ने र अमेरिका विरोधी विचारधारालाई बढावा दिनेहरूलाई अध्यागमन सुविधाहरु दिन नहुने बताएका छन् । युएससीआईएसले अमेरिका विरोधी भावनाहरूलाई निर्मूल पार्ने र कडा जाँच र अनुसन्धानका उपायहरूलाई पूर्ण रूपमा लागू गर्ने नीति तथा प्रक्रियाहरूलाई कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उनको भनाई छ ।
यी नीतिगत अपडेट अनुशार नीति पुस्तिकामा अमेरिका विरोधी र यहूदी विरोधी गतिविधिहरूलाई नकारात्मक कारकको रूपमा थपिएको छ। विद्यार्थी लगायतका भिसाको समय विस्तार, अवस्था परिवर्तन वा पुनःस्थापना सम्बन्धी स्वेच्छिक निर्णयहरूलाई पनि स्पष्ट पारिएको छ। त्यस्तै ग्रिनकार्ड आवेदन र वर्क परमिट आवेदनबारे स्वेच्छिक कारकहरूमा पनि थप दिशानिर्देशहरू समावेश गरिएको छ।
विद्यमान नीति र कानून अनुशार युएससीआईएसका अधिकारीहरुले गैर आप्रवासी भिसा विस्तार वा परिवर्तन गर्न दिइएका आवेदनहरू, गैर आप्रवासीको रूपमा प्रवेश गर्न अग्रिम अनुमति, मानवीय परोल, अस्थायी संरक्षित स्थिति टीपीएस, एसाइलम, ग्रिनकार्ड आवेदन, अयोग्यताको छूट, निर्वासन वा हटाइएपछि प्रवेशको लागि पुन आवेदन दिन सहमति र निश्चित वर्क परमिट आवेदनमा तजविज अधिकार प्रयोग गर्न सक्छन् ।
त्यस्तै अमेरिकी नागरिकका मंगेतरका लागि निवेदनहरू र रोजगारमा आधारित आप्रवासी निवेदनहरू, आप्रवासी लगानीकर्ता निवेदनहरू र क्षेत्रीय केन्द्रका आवेदनहरूका लागि विशेष अपवादहरूमा सीमित स्वविवेक लागू हुन्छ। तर गैर आप्रवासी कामदारका लागि निवेदनहरू, परिवारमा आधारित पिटिसनहरु, अमेरिकी नागरिकता आवेदन र नागरिकताको प्रमाणपत्रको लागि आवेदनहरूमा अधिकारीहरुले स्वविवेक वा तजविज अधिकार प्रयोग गर्न पाउँदैनन् ।






