न्युजर्सीमा अब बालबालिकाले यी कानुन तोडे अभिभावकलाई जेल र जरिवाना
प्रकाशित मिति : श्रावण ३०, २०८२ शुक्रबार
अमेरिकाको न्युजर्सीमा बालबालिकाले कानुन तोडेमा उनीहरूका अभिभावकलाई २,००० डलरसम्म जरिवाना वा ९० दिनसम्मको जेल सजाय हुने भएको छ। न्यूजर्सीको ग्लाउसेस्टर टाउनशिप काउन्सिलले १८ वर्ष मुनिका बालबालिकाले गरेका केही कसुरका लागि अभिभावकलाई नै जिम्मेवार ठहर्याउने नयाँ नियम ल्याएको हो। यो नियम बालबालिकाले स्कूल छाड्ने, चोरी गर्नेदेखि लिएर अन्य गम्भीर अपराधसम्मका घटनामा लागू हुनेछ।
काउन्सिलले २८ प्रकारका अपराध तोकेको छ, जसमा अभिभावकलाई जरिवाना वा जेल सजाय हुन सक्छ। तीमध्ये केही अपराधहरूमा ठगी, अव्यवस्थित व्यवहार, चोरहरूसँगको संगत, जुवा खेल्ने र सडकमा बिना काम घुम्नेजस्ता कार्यहरू समावेश छन्। यदि कुनै बच्चाले बारम्बार अपराध गरिरहेको छ भने उसका अभिभावकलाई अझ कडा सजाय दिइनेछ।
यो निर्णय साउथ जर्सीमा ड्रोन शोको क्रममा एक वर्षअघि भएको हिंसात्मक झडपपछि आएको हो। सो घटनामा करिब ५०० जनाको भीड जम्मा भएको थियो, जसमध्ये धेरैजसो बालबालिका र युवाहरू थिए। झडप हुँदा ११ जनालाई पक्राउ गरिएको थियो, जसमा नौ जना किशोरकिशोरी थिए। उनीहरूको उमेर १३ देखि १७ वर्षसम्मको थियो। उनीहरू सबैलाई अव्यवस्थित व्यवहारको आरोपमा पक्राउ गरी पछि घर पठाइएको थियो। सोही झडपमा तीन प्रहरी अधिकारी सामान्य घाइते भएका थिए।
ग्लाउसेस्टर टाउनशिपका प्रहरी प्रमुख डेभिड हार्किन्सले अभिभावकको रेखदेख बिनाका किशोरकिशोरी र युवाहरूको अव्यवस्थित व्यवहारले ४० वर्षदेखि छात्रवृत्तिको लागि रकम जुटाउन हुँदै आएको एउटा राम्रो पारिवारिक कार्यक्रम बर्बाद भएको बताएका थिए । हार्किन्सका अनुसार यस्तो प्रकारको अव्यवस्थित र हिंसात्मक व्यवहार अब स्वीकार्य हुने छैन र यसलाई ग्लाउसेस्टर टाउनशिपको पहिचान बन्न दिइने छैन।
अभिभावकहरूलाई जिम्मेवार ठहर्याइएका केही कसुरहरूमा कुनै पनि आपराधिक कानुन वा नगरपालिकाको नियमको उल्लङ्घन, जुवा खेल्ने ठाउँमा जाने वा कानुनको उल्लङ्घन हुने अन्य ठाउँमा जाने, तीन वा सोभन्दा बढीको समूहमा सार्वजनिक सडक, राजमार्ग वा गल्लीमा घुमफिर गर्ने रहेका छन् ।
त्यस्तै सार्वजनिक सम्पत्ति जस्तै पार्क वा खेल मैदानका उपकरणहरू तोडफोड गर्ने, सार्वजनिक सडकमा मदिरा सेवन गर्ने वा मातेर हिँड्ने, भीख माग्ने, १८ वर्षभन्दा कम उमेरका बालबालिकाको उचित हेरचाह वा निगरानी नगर्ने, सार्वजनिक स्थलमा अशोभनीय व्यवहार प्रदर्शन गर्ने, स्कुल नजाने वा घरमा नबस्ने कसुरहरुमा पनि अभिभावकहरुलाई जिम्मेबार ठहराइनेछ ।








