रोजगारमा आधारित श्रेणी सेप्टेम्बरमा ठप्प, दोस्रो र तेस्रो श्रेणीको ग्रीनकार्ड/भिसा जारी रोकिनसक्ने
प्रकाशित मिति : श्रावण २८, २०८२ बुधबार
अमेरिकी सरकारको विदेश मन्त्रालयबाट जारी सेप्टेम्बरको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणीमा ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा टसमस भएको छैन । यूएससीआईएसले सेप्टेम्बर महिनामा पनि रोजगारमा आधारित ग्रीनकार्डका लागि भिसा बुलेटिनको फाइलिङ मिति प्रयोग नगरी फाइनल एक्सन मिति नै प्रयोग गर्ने भएको छ।
सेप्टेम्बर महिनामा पहिलो श्रेणीको हकमा पहिले जस्तै ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ। सेप्टेम्बर महिनामा पनि अमेरिकाभित्रै रहेकाहरूको हकमा पहिलो श्रेणीको आवेदन आई १४० सँगै ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिने भएको छ भने अमेरिकाबाहिर रहेकाहरूले भिसा करेन्ट रहेसम्म कुर्नु पर्दैन। यद्यपि दूतावासहरूमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर रहेकाहरूलाई आप्रवासी भिसा अन्तर्वार्ताका लागि भने लामो समय लाग्न सक्छ।
रोजगारमा आधारित दोस्रो श्रेणीको ग्रीनकार्डका लागि अगस्त महिनामा आई ४८५ ग्रीनकार्ड आवेदन फाइल गर्न सकिने प्राथमिकता मिति १ सेप्टेम्बर २०२३ नै कायम भएको छ । यद्यपी अगस्तामा यो मिति १५ अक्टोबर २०२३ बाट अझ पछाडि सरेको थियो । यो श्रेणीमा सेप्टेम्बरमा अमेरिकाभित्र हुनेहरुले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्दा वा अमेरिकाबाहिर रहेकाहरूले भिसा अन्तर्वार्ता र आप्रवासी भिसा पाउनका लागि उनीहरुको आई १४० आवेदन १ सेप्टेम्बर २०२३ अगाडि फाइल गरिसकेको हुनुपर्छ ।
तेस्रो श्रेणीको स्किल्ड ग्रीनकार्ड आवेदकहरूका लागि अप्रिल १ , २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरूको लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा उनीहरूले सेप्टेम्बर महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्। यो मितिमा कुनै हलचल भएको छैन । अमेरिकाबाहिर भिसा कुरिरहेकाहरूको हकमा पनि अप्रिल १ , २०२३ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरूले सेप्टेम्बर महिनामा भिसाका लागि अन्तर्वार्ता पाउन सक्नेछन्।
रोजगारमा आधारित तेस्रो श्रेणीका अनस्किल्ड कामदारहरूको हकमा जुलाई ८ , २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरूले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा सेप्टेम्बर महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्। अगस्तको तुलनामा यसमा पनि कुनै हलचल छैन । यो श्रेणीमा अमेरिकाबाहिर भिसा कुरिरहेकाहरूको हकमा जुलाई ८ , २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरूले अगस्त महिनामा भिसाका लागि अन्तर्वार्ता पाउन सक्नेछन्।
तर, चौथो श्रेणीको विशेष आप्रवासी र धार्मिक कामदारहरूका लागि अमेरिकी विदेश मन्त्रालयले ग्रीनकार्डको वार्षिक सीमा आर्थिक वर्षको पाँच महिनाभित्रै पुगेको घोषणा गरेकाले यो श्रेणी अहिले उपलब्ध छैन। यसको मतलब अक्टोबर १ मा अर्को आर्थिक वर्ष सुरु नभएसम्म यो श्रेणीअन्तर्गत थप भिसा वा ग्रीनकार्डहरू उपलब्ध हुनेछैनन्।
चालु आर्थिक बर्षका रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणीको ग्रिनकार्ड र भिसा जारी हुन बन्द हुने चेतावनी गत महिना अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले भिसा बुलेटिनमार्फत दिएको थियो । चालु आर्थिक बर्षका लागि रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणीको ग्रिनकार्डको कोटा समाप्त हुने दिशामा रहेको उल्लेख गर्दै आगामी केही सातामा भिसा र ग्रिनकार्ड अनुपलब्ध हुनसक्ने चेतावनी दिइएको थियो ।
यी श्रेणीका ग्रिनकार्डको प्रयोग बढ्दो संख्यामा रहेको उल्लेख गर्दै रोजगारमा आधारित दोश्रो श्रेणीमा भिसा र ग्रिनकार्ड जारी गर्ने कुल संख्या द्रुत गतिमा चालु आर्थिक बर्ष २०२५ को वार्षिक सीमा नजिक पुग्दै गर्दै भिसा बुलेटिनमा उल्लेख गरिएको थियो । जसले गर्दा यो श्रेणीमा भिसा र ग्रिनकार्ड जारी गर्ने दरहरूमा सुस्तता आवश्यक भएको जनाउँदै रोजगारमा आधारित दोश्रो श्रेणीको प्राथमिकता मिति समेत पछाडि धकेलिएको थियो ।
यो श्रेणीमा भिसा र ग्रिनकार्ड जारी गर्ने वार्षिक सीमा अगस्टमा कुनै समयमा पुग्ने प्रक्षेपण समेत भिसा बुलेटिनमा गरिएको थियो । यदि कुनै पनि समयमा भिसा र ग्रिनकार्डको वार्षिक सीमा पुगेमा प्राथमिकता श्रेणीलाई तुरुन्तै अनुपलब्ध बनाउन आवश्यक हुने र भिसा वा ग्रिनकार्डका थप अनुरोधहरू प्रकृयामा नलगिने भिसा बुलेटिनमा प्रष्ट पारिएको छ । यो अवस्थाको निरन्तर अनुगमन गरिने र तदनुसार कुनै पनि आवश्यक समायोजन गरिने विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।
त्यस्तै रोजगारमा आधारित तेश्रो श्रेणीमा भिसा वा ग्रिनकार्डको माग र संख्या प्रयोग उच्च रहेको तथा ती श्रेणीहरुमा पनि जारी गर्ने भिसा वा ग्रिनकार्डको कुल बार्षिक कोटा पूरा हुन लागेको प्रष्ट पारिएको थियो । यी श्रेणीमा पनि सेप्टेम्बरभन्दा अगाडि पनि भिसा अनुपलब्ध हुनसक्ने ब्यूरो अफ कन्सुलर अफेयर्सले प्रष्ट पारेको छ ।






