लस एन्जलसमा डढेलो, हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा सर्न आदेश


प्रकाशित मिति : श्रावण २४, २०८२ शनिबार

अमेरिकाको लस एन्जलसको उत्तर-पश्चिममा लागेको डढेलोका कारण हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा सार्न आदेश दिइएको छ।

अत्यधिक तापक्रम र सुख्खा मौसमका कारण त्यहाँ डढेलो तीव्र गतिमा फैलिएको हो। ‘क्यान्यन फायर’ नाम दिइएको यो आगलागी बिहीबार दिउँसो भेन्टुरा र लस एन्जलस काउन्टीको सिमानामा सुरु भएको थियो।

डढेलो ३० एकड क्षेत्रबाट फैलिएर करिब ५ हजार ४०० एकडमा पुगिसकेको थियो। अधिकारीहरूले करिब २८ प्रतिशत क्षेत्रमा नियन्त्रण गरिएको जनाएका छन्।

सुरक्षित स्थानमा जान आदेश दिइएका धेरै स्थानमा सो आदेशलाई चेतावनीमा रूपान्तरण गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रक उकालोबाट पल्टिँदा एक दमकलकर्मी गम्भीर घाइते भएका छन्। कर्न काउन्टीका दमकलकर्मी जेम्स एज पिकअप ट्रक चलाइरहेका बेला दुर्घटनामा परेका थिए।

अत्यधिक तापक्रम र ऐतिहासिक रूपमा सुख्खा मौसमका कारण आगो निभाउने प्रयास जटिल भइरहेको भए पनि अनुकूल मौसम भएमा डढेलो नियन्त्रणमा प्रगति हुने सम्भावना पनि रहेको भेन्टुरा काउन्टीले जनाएको छ।

डढेलो नियन्त्रणमा १ हजार १४८ जनालाई खटाइएको छ। आगामी दिनमा तापक्रम १०० डिग्री फरेनहाइट पुग्ने पूर्वानुमान भएकाले बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

डढेलोनजिकैको सहर सान्ता क्लारिटाका बासिन्दालाई प्रभावित क्षेत्रमा नबस्न चेतावनी दिइएको छ।

‘क्यान्यन फायर’ क्यालिफोर्नियामा फैलिरहेका धेरै डढेलोमध्ये एक हो। ‘क्याल फायर’का अनुसार हालको सबैभन्दा ठूलो ‘गिफोर्ड फायर’ले सान लुइस ओबिस्पो र सान्ता बारबरा काउन्टीमा करिब १ लाख एकड क्षेत्र जलेको छ।

जलवायु परिवर्तनका कारण क्यालिफोर्नियामा डढेलोका घटना बढ्दै गएको विज्ञहरूले बताएका छन्। अत्यधिक तापक्रम र सुख्खा अवस्थाले डढेलोको मौसम लामो र विनाशकारी बनाएको छ।

यस वर्षको जनवरीमा मात्र ‘इटन फायर’ र ‘प्यासिफिक फायर’ले लस एन्जलसका दुई बस्तीमा आगलागी गराउँदा कम्तीमा ३१ जनाको मृत्यु भएको थियो। हजारौँ भवन नष्ट भएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com