ट्रम्पकालको ४ महिनामा बाइडेनकालको तुलनामा बढी संख्यामा गैरआप्रवासी भिसा जारी
प्रकाशित मिति : श्रावण २२, २०८२ बिहीबार
ट्रम्पकालको ४ महिनामा बाइडेनकालको तुलनामा बढी संख्यामा गैरआप्रवासी भिसा जारी भएको तथ्यांक अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको छ । फेब्रुअरीदेखि मेसम्मका ४ महिनामा ३८ लाख १२ हजार ४ सय ३ गैर आप्रवासी भिसा जारी गरिएको छ । यो संख्या विश्वभरका अमेरिकी दूतावास र कन्सुलेट कार्यालयहरुबाट जारी भिजिटर लगायतका गैर आप्रवासी भिसाको संख्या हो ।
त्यसअगाडि बाइडेन प्रशासन अन्तरगतका ४ महिना अर्थात् अक्टोबर २०२४ देखि जनवरी २०२५ सम्म ३६ लाख २८ हजार १ सय ३७ गैर आप्रवासी भिसा जारी गरिएको थियो । सो अवधिसँग ट्रम्प प्रशासनका ४ महिनाको तुलना गर्दा गैर आप्रवासी भिसा पाउनेहरुको संख्या झण्डै २ लाखले बढी रहेको छ । ट्रम्प प्रशासनको कडा अध्यागमन नीतिका बाबजुत विश्वब्यापी रुपमा गैर आप्रवासी भिसा जारी हुने संख्यामा भने कमी नआएको देखिएको छ ।
बाइडेन प्रशासन अन्तरगत अक्टोबरमा ९ लाख ७७ हजार ७ सय १५, नोभेम्बरमा ८ लाख ११ हजार ८८, डिसेम्बरमा ८ लाख ८४ हजार ७ सय ३९ र जनवरीमा ९ लाख ५४ हजार ५ सय ९५ गैर आप्रवासी भिसाहरु जारी गरिएका थिए । ट्रम्प प्रशासन अन्तरगत फेब्रुअरीमा ९ लाख १४ हजार ९ सय ८९, मार्चमा १० लाख ६ हजार २ सय २७, अप्रिलमा ९ लाख ९३ हजार २ सय ५० र मे मा ८ लाख ९७ हजार ९ सय ३७ गैर आप्रवासी भिसा जारी गरिएको विदेश मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मार्चमा जारी गैर आप्रवासी भिसा संख्या चालु आर्थिक बर्षको कुनै पनि महिनाको तुलनामा अधिक रहेको छ । आर्थिक बर्ष २०२४ मा १ करोड ९ लाख ६९ हजार ९ सय ३६ गैर आप्रवासी भिसाहरु जारी गरिएको थियो । जुन बाइडेनकालका अघिल्ला आर्थिक बर्षहरुको तुलनामा धेरै हो । आर्थिक बर्ष २०२३ मा विश्वभरबाट १ करोड ४ लाख ३८ हजार ३ सय २७, २०२२ मा ६८ लाख १५ हजार १ सय २० र २०२१ मा २७ लाख ९२ हजार ८३ गैर आप्रवासी भिसाहरु जारी गरिएको थियो । २०२१ को भिसा जारी संख्या कोरोना महामारीबाट प्रभावित भएको थियो ।
अघिल्लो ट्रम्प प्रशासन अन्तरगत आर्थिक बर्ष २०२० मा ४० लाख १३ हजार २ सय १० जनालाई गैर आप्रवासी भिसा जारी गरिएको थियो । यो संख्या २०१९ मा ८७ लाख ४२ हजार ६८, २०१८ मा ९० लाख २८ हजार २६ र २०१७ मा ९६ लाख ८१ हजार ९ सय १३ रहेको थियो ।








