के नोभेम्बर १८ सम्म अमेरिकामा काम गर्न नेपाली टीपीएसवाहकले कुनै कदम चाल्नुपर्छ?
प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार
अमेरिकाको संघीय अदालतले नेपालको टीपीएस खारेजी नोभेम्बर १८ सम्मका लागि स्थगित गरेपछि नेपाली टीपीएसवाहकले वर्क परमिटको अवधि लम्बाउन कुनै आवेदन दिनु पर्ने नपर्नेबारे जिज्ञासा राखिरहेका छन् । युएससीआईएसले सोमबार नेपालको टीपीएस सम्बन्धि पृष्ठमा गरेको अपडेट अनुशार नेपाली टीपीएसवाहकले नोभेम्बर १८ सम्म अमेरिकामा रहन र काम गर्न कुनै आवेदन दिनु पर्दैन ।
युएससीआईएसले नेपालको टीपीएसबारेको पृष्ठमा नेपालको टीपीएस नोभेम्बर १८, २०२५ सम्म कायम रहने र टीपीएससँग सम्बन्धित वर्क परमिट पनि नोभेम्बर १८ सम्म स्वत लम्बिने उल्लेख गरेको छ । युएससीआईएसले नेपालको टीपीएस अन्तर्गत जुन २४, २०२५ को म्याद सकिने मिति सहित जारी गरिएका वर्क परमिटको वैधता नोभेम्बर १८, २०२५ सम्म स्वतः विस्तार गरेको पनि उल्लेख छ। जसको अर्थ आवेदकले कुनै आवेदन पेश नगरी वा कुनै कदम नचालीकनै उनीहरुको वर्क परमिटको अवधि नोभेम्बर १८ सम्म लम्बिसकेको छ ।
यो स्वचालित विस्तार मार्फत नोभेम्बर १८, २०२५ सम्म काम गर्न पाउने प्रमाणको रूपमा आफ्नो पहिलेको जुन २४ सम्मको म्याद भएको वर्क परमिट नै प्रयोग गर्न जारी राख्न सक्ने युएससीआईएसले जनाएको छ । साथै टीपीएसवाहकको वर्क परमिटको अवधि विगतमा पनि स्वत लम्बिने गरेकोमा नेपाली टीपीएसवाहकले जुन २४, २०१८, जुन २४, २०१९, मार्च २४, २०२०, जनवरी ४, २०२१, अक्टोबर ४, २०२१, डिसेम्बर ३१, २०२२, जुन ३०, २०२४ सम्म म्याद भएका वर्क परमिटहरु पनि प्रयोग गर्न पाउनेछन् ।
अमेरिकामा काम गर्न पाउने प्रमाणित गर्न रोजगारदातालाई जुन २४ मा म्याद सकिएको वर्क परमिट देखाउन सकिने छ भने सरकारी एजेन्सीहरूले नेपाली टीपीएसवाहकको आप्रवासन स्थिति निर्धारण गर्न आवश्यक भएमा पनि उक्त वर्क परमिट देखाउन सकिने युएससीआईएसले जनाएको छ । स्वचालित विस्तारको घोषणा गर्ने फेडरल रजिष्ट्रर सूचनाको प्रतिलिपी समेत पेश गर्न भनिएपनि अहिलेसम्म युएससीआर्ईएसले त्यस्तो सूचना फेडरल रजिष्ट्ररमा भने प्रकाशित गरेको छैन । यद्यपी त्यस्तो सूचना छिट्टै प्रकाशित हुने अपेक्षा भने गरिएको छ ।
कानुन व्यवसायीहरुले अहिलेका लागि अदालतको निर्णयलाई नै त्यसको आधार मान्न सुझाव दिएका छन् । अदालतले अगस्ट १४, २०२५ लाई प्रारम्भिक मुद्दा व्यवस्थापन सम्मेलनको लागि सुरक्षित राखेको छ भने अक्टोबर ९, २०२५ लाई थप मुद्दा व्यवस्थापन सम्मेलनको रूपमा राखेको छ। अदालतले नोभेम्बर १८, २०२५ को दिउँसो २ बजे प्रारम्भिक निषेधाज्ञा सुनुवाइको लागि सुरक्षित राखेको छ। नोभेम्बर १८ मा हुने सुनुवाईपछि टीपीएस खारेजी स्थगन थपिनसक्ने अदालतको निर्णयमा उल्लेख छ ।
नेशनल टीपीएस एलायन्स र सात व्यक्तिगत वादीहरूले जुलाई ७, २०२५ मा ट्रम्प प्रशासनको विरुद्ध मुद्दा दायर गरेका थिए। यो मुद्दाले होन्डुरस, नेपाल र निकारागुआका नागरिकहरूको लागि टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयलाई चुनौती दिएशो हो । मुद्दाले प्रशासनिक प्रक्रिया ऐनको उल्लङ्घन, जातीय द्वेषका कारण संवैधानिक उल्लङ्घन, र पर्याप्त संक्रमण अवधिको प्रावधानमा असफलताको आरोप लगाएको छ ।
नेपाली वादीहरूमा सान फ्रान्सिस्कोमा बस्ने ३३ वर्षीय नेपाली एसके रहेका छन्। ती टीपीएस वाहक अमेरिकी नागरिकसँग विवाह बन्धनमा बाँधिएका छन् र थिएटरमा काम गर्छन्। त्यस्तै अर्का नेपाली वादी सन्ध्या लामा हुन्। भर्जिनियामा बस्ने ४३ वर्षीय यी नेपाली आफ्ना तीन अमेरिकी नागरिक बच्चाहरूको लागि एक मात्र अभिभावक हुन्, जसमध्ये एक बच्चालाई विशेष चिकित्सा उपचार आवश्यक छ।






