अमेरिकामा ट्रान्सजेन्डर खेलाडीको भिसा रोक ! अब महिला खेलकुदमा प्रवेश कडाइ
प्रकाशित मिति : श्रावण २०, २०८२ मंगलबार
अमेरिकी सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले खेलकुदमा प्रतिस्पर्धा गर्न चाहने ट्रान्सजेन्डर महिलाहरूको भिसा प्रक्रियामा कडाइ गरेको छ ।
यूएससीआईएसले आफ्नो अद्यावधिक नीतिअन्तर्गत ट्रान्सजेन्डर महिलाहरू (विशेष गरी जैविक रूपमा पुरुष जन्मिएका व्यक्तिहरू)ले महिला खेलकुदमा भाग लिने उद्देश्यले पेश गरेको भिसा निवेदनलाई नकारात्मक रूपमा मूल्याङ्कन गरिने जनाएको हो ।
यूएससीआईएसले यो निर्णय ओ-१ ए, इबी-१, इबी-२ र राष्ट्रिय हित छुट जस्ता विशेष आप्रवासन श्रेणीहरूमा लागू हुनेछ।
यूएससीआईएसका प्रवक्ता म्याथ्यू ट्राजेसरले भने, “विदेशी पुरुष खेलाडीहरूले लिङ्ग परिवर्तनको आडमा महिला खेलकुदमा जैविक लाभको उपयोग गरेर जित्न खोज्ने अभ्यासलाई अब अन्त्य गरिँदैछ। यो सुरक्षा, निष्पक्षता, सम्मान र सत्यको कुरा हो।”
यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले खेलकुदमा ट्रान्सजेन्डर सहभागिता सीमित गर्न लिएको नीति र प्रवृत्तिसँग मेल खान्छ । गत महिना अमेरिकी ओलम्पिक तथा प्यारालम्पिक समितिले पनि यस्तै प्रकृतिको नीति संशोधन गर्दै ट्रान्सजेन्डर महिलाहरूलाई महिला खेलकुदमा भाग लिन रोक लगाउने निर्णय गरेको थियो।
ट्रम्पले गत फेब्रुअरीमा “पुरुषहरूलाई महिला खेलकुदबाट टाढा राख्ने” नामक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। समर्थकहरूका अनुसार यो निर्णयले खेलकुदमा निष्पक्षता पुनःस्थापना गर्छ । तर, आलोचकहरू भन्छन्, “यो नीतिले ट्रान्सजेन्डर समुदायको अधिकारमाथि हस्तक्षेप गरेको छ।”








