अमेरिकामा पारिवारिक र वैवाहिक सम्बन्धको छानबिन कडा, नक्कली प्रमाणित भए देश निकाला
प्रकाशित मिति : श्रावण १९, २०८२ सोमबार
अमेरिकाको युएस सिटिजनशिप एण्ड इमिग्रेशन सर्भिसेज (युएससीआईएस) ले शुक्रबार नीतिगत मार्गदर्शनमा महत्त्वपूर्ण अद्यावधिक घोषणा गर्दै, पारिवारिक सम्बन्धमा आधारित ग्रिनकार्ड र आप्रवासी भिसा आवेदनको छानबिन, परीक्षण र निर्णय प्रक्रियामा कडाइ गर्ने नीति ल्याएको छ। यो अद्यावधिक तुरुन्तै प्रभावकारी भएको छ र सबै विचाराधीन तथा नयाँ पेस गरिएका आवेदनहरूमा लागू हुनेछ।
यसको मुख्य उद्देश्य जालसाजी नियन्त्रण गर्ने, पारिवारिक सम्बन्धको सत्यता सुनिश्चित गर्ने र राष्ट्रिय सुरक्षालाई सुदृढ पार्ने रहेको युएससीआईएसले जनाएको छ। संस्थाले जालसाजीपूर्ण, आधारहीन वा महत्वहीन आवेदनहरूले प्रणालीप्रतिको विश्वास घटाउने र अमेरिकी अध्यागमन प्रणालीलाई कमजोर बनाउने कुरामा जोड दिएको छ। कडाइका साथ छानबिन प्रक्रियालाई बलियो बनाएर, योग्य वैवाहिक र पारिवारिक सम्बन्धहरू वास्तविक, प्रमाणित गर्न सकिने र कानुनको पूर्ण पालना गर्ने खालका रहेको सुनिश्चित गर्न खोजिएको युएससीआईएसले स्पष्ट पारेको छ।
नयाँ नीतिले अधिकारीहरूलाई यसबारे स्पष्ट निर्देशन प्रदान गरेको छ। यसमा योग्यता र निर्णयसम्बन्धी आवश्यकतासँगै अन्तर्वार्ताको आवश्यकता र देशनिकालाको प्रक्रियाअनुसार “नोटिस टु अपियर” जारी गर्ने सम्भावनाबारे पनि व्याख्या गरिएको छ। यसले सम्बन्धित वा बहु याचिकाका साथ पेस गरिएका परिवारमा आधारित आप्रवासी भिसा तथा ग्रिनकार्ड आवेदनहरूमा युएससीआईएसले कसरी निर्णय गर्छ भन्ने कुरा पनि स्पष्ट पारिएको छ।
साथै, यो नीतिले अमेरिकी नागरिकहरूले तत्काल नातेदारका लागि विदेशमै रहेको अमेरिकी विदेश मन्त्रालयमार्फत आई–१३० आवेदन पेस गर्न सक्ने अवस्थाबारे पनि स्पष्ट पारेको छ। यसमा विदेशमा खटिएका अमेरिकी सैनिक र केही अमेरिकी सरकारी कर्मचारीका लागि गरिने आवेदनहरू पनि समावेश छन्।
यदि आवेदन अस्वीकृत भई विदेशी नागरिक लाभग्राही निष्कासनयोग्य ठहरिएमा, युएससीआईएसले “नोटिस टु अपियर” जारी गर्न सक्ने कुरा प्रष्ट पारिएको छ। परिवारमा आधारित ग्रिनकार्ड र आई–१३० आप्रवासी भिसा आवेदनले कुनै आप्रवासन स्थिति प्रदान नगर्ने र निष्कासनबाट छुट नदिने विषयमा पनि युएससीआईएसले स्पष्ट जानकारी दिएको छ।
युएससीआईएसले आफ्नो नीति पुस्तिकामा लेखेको छ, “यदि युएससीआईएसले विदेशी लाभग्राहीलाई निष्कासनयोग्य र अमेरिकाबाट निष्कासनका लागि उत्तरदायी ठान्यो भने ‘नोटिस टु अपियर’ जारी गर्न सक्छ। परिवारमा आधारित आई–१३० पिटिसनले कुनै आप्रवासन स्थिति प्रदान नगर्ने र निष्कासनबाट छुट नदिने कुरा याचिकाकर्ता र विदेशी लाभग्राहीले थाहा पाउनुपर्छ।”






