अमेरिकाले ३५ प्रतिशत महसुल लगाएपछि ट्रम्पसँग वार्ता गर्ने तयारीमा क्यानडाली प्रधानमन्त्री
प्रकाशित मिति : श्रावण १८, २०८२ आईतबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाली प्रधानमन्त्री मार्क कार्नीबीच आगामी केही दिनभित्र व्यापारसम्बन्धी गम्भीर छलफल हुने भएको छ। अमेरिकाले अमेरिका-मेक्सिको-क्यानडा व्यापार सम्झौतामा नपर्ने क्यानडाली सामानहरूमा ३५ प्रतिशत महसुल लगाएपछि दुवै देशबीच तनाव बढिरहेको छ।
क्यानडाका व्यापारमन्त्री डोमिनिक लेब्लाङले आइतबार एक कार्यक्रममा भने, “हामी अमेरिकी सचिव लुटनिक र व्यापार प्रतिनिधि ग्रीरसँगको कुराकानीबाट उत्साहित छौं । तर, अझै सम्झौता हुनुपर्ने ठाँउमा पुगिसकेका छैनौं।”
उनले महसुल घटाउने सम्झौताको सम्भावना अझै बाँकी रहेको स्पष्ट पारे।
अमेरिकाको पछिल्लो महसुल निर्णयलाई वाशिङ्टनले क्यानडाबाट भइरहेको फेन्टानिल तस्करी रोक्न नसकेको आरोपसँग पनि जोडेको छ। तर, प्रधानमन्त्री कार्नीले क्यानडाबाट अमेरिका जाने फेन्टानिलको मात्रा जम्मा १ प्रतिशत मात्रै भएको उल्लेख गर्दै त्यसलाई अझ घटाउन सरकारले सक्रिय पहल गरिरहेको बताएका छन्।
मन्त्री लेब्लाङका अनुसार, प्रधानमन्त्री कार्नी र राष्ट्रपति ट्रम्पबीचको सम्भावित संवादले व्यापारिक तनाव घटाउने र लगानीमा स्पष्टता ल्याउने आशा गरिएको छ। क्यानडाले महसुलको विकल्प खुला राखेको जनाउँदै उनले द्विपक्षीय सम्झौताबाट समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।
यो महसुल विवाद राष्ट्रपति ट्रम्प पुनः सत्तामा फर्किएपछि सुरु भएको व्यापार युद्धको पछिल्लो झड्का हो।








