अमेरिका-दक्षिण कोरिया सम्झौता : ट्रम्पले भन्सार महसुल घटाए, कोरियाको ३५० अर्बको लगानीको घोषणा
प्रकाशित मिति : श्रावण १५, २०८२ बिहीबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको व्यापार सम्झौता अन्तर्गत २५ प्रतिशत नभएर १५ प्रतिशत मात्र भन्सार महसुल लागु गरिने घोषणा गरेका छन्। यो निर्णय दुई देशबीचको व्यापार तनाव कम गर्ने उद्देश्यले गरिएको हो।
सम्झौताको अन्तर्गत, दक्षिण कोरियाले अमेरिका भित्र ट्रम्पद्वारा चयन गरिएका परियोजनाहरूमा ३५० अर्ब अमेरिकी डलर लगानी गर्नेछ र थप १०० अर्ब डलर बराबरका ऊर्जा उत्पादनहरू खरिद गर्नेछ।
यो सम्झौता राष्ट्रपति ट्रम्प र कोरियाली अधिकारीहरूबीच ह्वाइट हाउसमा भएको बैठकपछि सार्वजनिक गरिएको हो। राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमार्फत लेख्दै भने, “अमेरिका र कोरियन गणराज्यबीच पूर्ण व्यापार सम्झौता भएकोमा म खुशी छु।”
कोरियाली राष्ट्रपति ली जे म्युंगका लागि यो सम्झौता पद सम्हालेपछि पहिलो ठूलो कूटनीतिक सफलता मानिएको छ। उनले भने, “सम्झौताले अनिश्चितता हटाएको छ र अमेरिकाको भन्सार दर अब प्रमुख प्रतिस्पर्धीहरूको सरह भएको छ।”
राष्ट्रपति ली दुई हप्ताभित्र पहिलोपटक ह्वाइट हाउस भ्रमण गर्ने तयारीमा छन्।
सम्झौता अनुसार, दक्षिण कोरियाले अब अमेरिकी गाडी र कृषि वस्तुहरूलाई खुला बजार दिनेछ र ती वस्तुमा कुनै आयात शुल्क लगाउने छैन् । यद्यपि कोरियाली अधिकारीहरूले भने खाद्य सुरक्षासम्बन्धी विषयमा छलफल जारी रहने बताएका छन्।
अर्थशास्त्रीहरूका अनुसार सम्झौताले सियोलले आफ्नो गैर-भन्सार नीतिहरू जोगाउन सफल भएको छ भने जापान तथा युरोपेली युनियनको स्तरमा भन्सार दर कायम राखेको छ।
सिटी बैंकका वरिष्ठ अर्थशास्त्री किम जिन-वुकले भने, “मुख्य समाचार अमेरिकाको जितजस्तो देखिए पनि वास्तविक विवरणहरू दक्षिण कोरियाका लागि पनि लाभदायक छन्।”
यो सम्झौता अगस्ट १ देखि लागु हुने नयाँ अमेरिकी भन्सार नीतिका पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो, जसले अन्य राष्ट्रहरूलाई पनि हतारमा व्यापार सम्झौता गर्न बाध्य बनाएको छ।








