रूसलाई २ हप्ताभित्र युद्ध अन्त्य गर्न चेतावनी दिँदै ट्रम्पले भने – अब पर्खनुको कुनै अर्थ छैन


प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धबारे रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति गहिरो निराशा व्यक्त गर्दै रुसलाई १० देखि १२ दिनभित्र युद्ध अन्त्य गर्न चेतावनी दिएका छन्। ट्रम्पले सो समयसीमाभित्र युद्ध नरोकिए अमेरिकाले रुसमाथि नयाँ चरणको कडा प्रतिबन्ध तथा महसुल लगाउने चेतावनी दिए ।

स्कटल्यान्डमा सोमबार बेलायतका प्रधानमन्त्री केअर स्टार्मरसँगको भेटपछिको पत्रकार सम्मेलनमा ट्रम्पले भने, “म १० वा १२ दिनको नयाँ समयसीमा तोक्दैछु। अब पर्खनु कुनै अर्थ छैन। हामीले कुनै प्रगति देखिरहेका छैनौं।”

यसअघि ट्रम्पले रुसलाई ५० दिनभित्र शान्ति सम्झौतामा आउन आग्रह गरेका थिए, अन्यथा “अत्यन्त कडा महसुल” लाग्ने चेतावनी दिएका थिए। तर, सोमबार उनले उक्त समयसीमा घटाउने निर्णय गरेका हुन्।

ट्रम्पले यदि क्रेमलिनले समयसीमाभित्र कदम नचालेमा “प्रतिबन्ध र सायद द्वितीयक महसुल” लाग्ने संकेत गरे । द्वितीयक महसुल भन्नाले रुससँग व्यापार गर्ने अन्य देशहरूमाथि पनि असर पर्नेछ, जसमा चीन र भारतजस्ता राष्ट्रसमेत पर्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालैका दिनहरूमा युक्रेनमाथि रुसले क्षेप्यास्त्र आक्रमण बढाएपछि ट्रम्पको धारणा बदलिएको देखिएको छ। सुरुवाती चरणमा ट्रम्पले राष्ट्रपति जेलेन्स्कीको आलोचना गरेका थिए र कीभलाई अमेरिकी हतियार आपूर्ति रोकेका थिए। तर, अप्रिलमा युक्रेनले अमेरिकासँग खनिज स्रोत साझेदारी सम्झौता गरेपछि ट्रम्प युक्रेनप्रति सहानुभूतिपूर्ण देखिन थालेका छन्। उनले युक्रेनलाई पुनः हतियार आपूर्ति सुरु गर्ने वाचा गरेका छन्।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीका प्रमुख स्टाफ आन्द्रिय यरमाकले ट्रम्पको अल्टिमेटमलाई स्वागत गर्दै सामाजिक सञ्जालमा लेखे, “ट्रम्पले ‘बलद्वारा शान्ति’ को सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता देखाएका छन्।”

तर, रुसले भने ट्रम्पका अघिल्ला चेतावनीहरूलाई गम्भीरताका साथ नलिएको देखिएको छ। राष्ट्रपति पुटिन युक्रेनमाथिको युद्धलाई सैन्य लाभको अवसर मानिरहेका छन् र बिना ठूला सर्त युद्ध रोक्न तयार नभएको स्रोतहरूले बताएका छन्।

“रुस अहिले धनी हुन सक्थ्यो,” ट्रम्पले भने, “तर उनीहरू सबै पैसा युद्धमा खर्च गर्छन्, मानिसहरू मार्न खर्च गर्छन्। मलाई यो कुनै अर्थपूर्ण लाग्दैन। म सोच्थेँ पुटिनले यो कुरा चाँडै अन्त्य गर्न चाहन्थे।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com