चेक राष्ट्रपतिले दलाई लामालाई भेटेपछि चीनको आपत्ति, एक-चीन नीतिको सम्मान गर्न चेतावनी
प्रकाशित मिति : श्रावण १२, २०८२ सोमबार
दलाई लामा । फाइल तस्वीर : विकिपिडियाबाट
भारत भ्रमणका क्रममा चेक गणराज्यका राष्ट्रपति पेत्र पावेलले तिब्बती आध्यात्मिक गुरु दलाई लामासँग भेट गरेपछि चीनले कडा आपत्ति जनाउँदै चेक पक्षलाई ‘एक-चीन नीति’ पालना गर्न आग्रह गरेको छ।
चीनको चेक गणराज्यस्थित दूतावासले आइतवार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीनले कुनै पनि देशका अधिकारी र दलाई लामाको समूहबीच हुने सम्पर्कको दृढतापूर्वक विरोध गर्दछ।” साथै चीनले चेक पक्षलाई तुरुन्त कदम चालेर “नकारात्मक प्रभाव” हटाउन चेतावनी दिएको छ।
चेक राष्ट्रपति कार्यालयले जनाएअनुसार राष्ट्रपति पावेलको दलाई लामासँगको भेट पूर्णतः निजी प्रकृतिको थियो। उनले जापानमा कार्य भ्रमण सकेपछि भारत हुँदै फर्कने क्रममा ९० वर्ष पुगेका दलाई लामालाई व्यक्तिगत रूपमा शुभकामना दिन अवसर लिएका थिए। पावेल उक्त अवसरमा आफ्नो सरकारी टोलीबाट अलग्गिएर दलाई लामासँग भेटेका थिए।
“राष्ट्रपतिले जापानको कार्य भ्रमण सकिएपछि प्रतिनिधिमण्डलबाट छुट्टिएर भारतमा रहेका दलाई लामालाई व्यक्तिगत रूपमा जन्मदिनको शुभकामना दिएका हुन्”, राष्ट्रपतिको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार दलाई लामाकै निमन्त्रणामा राष्ट्रपति भारत गएका थिए।
यस भेटलाई लिएर चीन आक्रोशित बनेको छ। चिनियाँ दूतावासको विज्ञप्तिमा भनिएको छ, “चेक पक्षले एक-चीन नीति अनुरूपको राजनीतिक प्रतिबद्धता पालना गर्नुपर्छ र तिब्बती पृथकतावादी शक्तिलाई गलत सन्देश दिने कुनै पनि कार्य तत्काल रोक्नुपर्छ।”
चीनले दलाई लामालाई ‘तिब्बती स्वतन्त्रताको अभियान चलाउने पृथकतावादी नेताका रूपमा’ चित्रण गर्दै आएको छ र उनलाई समर्थन वा भेटघाटलाई चीनविरोधी गतिविधिको रूपमा लिने गरेको छ।
दलाई लामा सन् १९५९ मा तिब्बतमा चिनियाँ शासनविरुद्ध भएको असफल विद्रोपश्चात् भारतमा निर्वासनमा बस्दै आएका छन्। उनी अहिले भारतको धर्मशालामा बसोबास गर्छन्। भारतमा करिब ७०,००० तिब्बती शरणार्थीहरू छन् र तिब्बती सरकार-इन-एक्साइल पनि त्यहीँबाट सञ्चालन हुन्छ।
भारतमा दलाई लामाको उपस्थितिलाई भारतीय विदेश नीति विश्लेषकहरूले चीनसँगको सम्बन्धमा एउटा कूटनीतिक शक्ति वा ‘लेभरज’को रूपमा व्याख्या गर्छन्।
चेक गणराज्य र चीनबीच पछिल्ला वर्षहरूमा सम्बन्ध चिसिंदै गएको छ। मे २०२५ मा चेकले आफ्नो परराष्ट्र मन्त्रालयमाथि भएको साइबर आक्रमणका लागि चीनमाथि आरोप लगाएको थियो। त्यस्तै, चेक राजनीतिज्ञहरूले ताइवान भ्रमण गरेका छन् भने ताइवानकी पूर्व राष्ट्रपति साई इङ–वेनले अघिल्लो अक्टोबरमा चेक राजधानी प्रागको भ्रमण गरेकी थिइन्।
चेक गणराज्यका पूर्व राष्ट्रपति भ्याक्लाव हावेल दलाई लामाका घनिष्ठ मित्र थिए र उनले पनि तिब्बती मामिलामा खुलेर समर्थन जनाएका थिए। हालका राष्ट्रपति पावेलको भेटलाई पनि सोही परम्पराको निरन्तरता मानिएको छ।






