बाराक ओबामाको अपिल – गाजामा सहायता पुग्न दिनुहोस्, खानापानीबाट मानिसलाई टाढा राख्नु अमानवीय
प्रकाशित मिति : श्रावण १२, २०८२ सोमबार
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा । तस्वीर : विकिपिडियाबाट
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले गाजामा खाद्य संकट र कुपोषणको गम्भीर अवस्थालाई लिएर गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले गाजाका नागरिकहरूसम्म मानवीय सहायता पुर्याउन तत्काल अनुमति दिनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा न्युयोर्क टाइम्सका दुईवटा रिपोर्टहरू साझा गर्दै उनले गाजामा भोकमरी, कुपोषण र सम्भावित अकालको अवस्था उठाएका छन्। विश्व समुदाय गाजाको यस्तो मानव संकट देखेर मौन रहन नसक्ने उल्लेख गरेका छन् ।
ओबामाले भने, “गाजा संकटको दीर्घकालीन समाधानका लागि इजरायली बन्दीहरूको रिहाइ र इजरायली सैनिक अभियानको अन्त्य आवश्यक छ। यस्ता रिपोर्टहरूले निर्दोष मानिसहरू भोकले मर्ने भयावह अवस्थालाई रोक्न तुरुन्त कारबाहीको खाँचो देखाउँछन्।”
पूर्व राष्ट्रपतिले अझ थप्दै भने, “गाजामा मानिसहरूसम्म सहायता पुर्याउन अवरोध गर्नु नहुने हो। खाना र पानीबाट मानिसलाई टाढा राख्नुको कुनै तुक छैन।”
विश्व स्वास्थ्य संगठनले हालै एक चेतावनी जारी गर्दै गाजामा कुपोषण खतरनाक स्तरमा पुगेको र स्थिति दिन प्रतिदिन गम्भीर बन्दै गएको बताएको छ।
यसैबीच, जोर्डन र संयुक्त अरब इमिरेट्स (यूएई) ले आइतबार हवाईमार्गबाट गाजामा राहत सामग्री पुर्याएका छन् । इजरायली पक्षले पनि गाजाका केही क्षेत्रहरूमा दैनिक १० घण्टा सैन्य अभियान रोक्ने घोषणा गर्दै संयुक्त राष्ट्रसंघमार्फत राहत सामग्री पठाउन मार्ग खोल्ने जनाएको छ।
मानवअधिकारकर्मीहरूले ओबामाको भनाइलाई स्वागत गर्दै अन्तर्राष्ट्रिय समुदायले गाजाका नागरिकहरूको जीवनरक्षाका लागि तुरुन्त कदम चाल्नुपर्नेमा जोड दिएका छन्।








