अमेरिकाको वालमार्टमा छुरा प्रहार गर्ने व्यक्तिलाई आतंकवादको अभियोग
प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार
अमेरिकाको मिशिगनको वालमार्टमा छुरा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
उनले ११ जनालाई छुरा प्रहार गरी घाइते बनाएका थिए । आतंकवाद र हत्या प्रयासमा आरोपीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
मिशिगन राज्यको ट्रेभर्स सिटीस्थित वालमार्ट सुपरमार्केटमा शनिबार दिउँसो छुरा प्रहार हुँदा ११ जना ग्राहकहरू घाइते भएका थिए । ४२ वर्षीय ब्राडफोर्ड जेम्स गिलेलाई आतंकवाद र हत्या प्रयासको आरोपमा पक्राउ गरिएको छ।
आरोपीले एउटा फोल्डिङ चक्कु प्रयोग गरी पाँच जना पुरुष र छ जना महिलालाई आक्रमण गरेका थिए ।
घाइतेमध्ये एक जना वालमार्ट कर्मचारी पनि रहेका छन् । पीडितहरूको उमेर २१ देखि ८४ वर्षसम्म रहेको छ । सबैको अवस्था स्थिर रहेको जनाइएको छ।
आरोपितको उद्देश्य प्रस्ट भइसकेको छैन । अनुसन्धानकर्ताहरूले भने सार्वजनिक स्थानमा यस्तो प्रकारको आक्रमणले समुदायमा डर फैलाउने उद्देश्य राखेको हुनसक्ने आधारमा आतंकवादको अभियोग लगाइएको बताएका छन् ।
एफबीआईले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ । वालमार्टका प्रवक्ता जो पेनिङ्टनले हिंसा स्वीकार्य नभएको बताएका छन । ट्रेभर्स सिटी डेट्रॉयट शहरबाट करिब २५५ माइल उत्तर पश्चिमतर्फ पर्दछ।






