अहिलेसम्म ४३ जना नेपाली ग्रिनकार्डवाहकलाई अमेरिकी विमानस्थलमा रोक
प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार
अहिलेसम्म ४३ जना नेपाली ग्रिनकार्डवाहकलाई अमेरिका आउने क्रममा सीबीपीले अमेरिका प्रवेशमा अयोग्य रहेको आशंकामा रोकेको खुलासा भएको छ । ट्रयाकले संयोजन गरेको तथ्यांक अनुशार उनीहरुलाई अमेरिका आउने क्रममा सीबीपीले रोकेपछि उनीहरुमध्ये १४ जनालाई परोल गरेर अमेरिकाभित्र प्रवेश दिइएको थियो । परोल गरिएकामध्ये केहीलाई सीबीपी अधिकारीले सिधै परोल गरेर अमेरिका प्रवेश दिएका थिए भने केहीलाई अतिरिक्त छानविनपछि परोल गरेर अमेरिका प्रवेश दिइएको थियो ।
त्यस्तै २० जनालाई नोटिस टु अपियर जारी गरेर देशनिकालाका लागि अदालतमा रिफर गरिएको थियो । तीमध्ये ७ जनालाई पक्राउ गरेर हिराशतमा लिएपछि अदालतमा रिफर गरिएको थियो भने बाँकीले रिहा भएरै अदालतमा देशनिकालाको मुद्दाको सामना गरेका थिए । त्यस्तै ५ जनाले आफ्नो ग्रिनकार्ड स्वेच्छिक रुपमा त्यागेर विमानस्थलबाटै नेपाल फर्किएका थिए भने २ जनालाई तीब्र गतिको देशनिकालामा राखिएको थियो । १ जना पहिले नै देशनिकालाको आदेश पाइसकेका पूर्व ग्रिनकार्डवाहक भएकाले उनलाई आफ्ना झिटिगुण्टासहित देशनिकाला गरिएको थियो भने १ जनालाई डिफर्ड इन्सपेक्सन र नो शोका रुपमा बर्गिकरण गरिएको छ ।
४३ जनामध्ये कतिजनासँग म्याद सहितको ग्रिनकार्ड थियो वा कतिजनासँग म्याद सकिएको ग्रिनकार्ड थियो भन्नेबारे प्रष्ट छैन । विमानस्थलमा रोकिएकाहरुमा विगतमा ग्रिनकार्ड भएमा तर पछि ग्रिनकार्ड खारेज भएका, ट्राभल डकुमेन्ट नलिइकनै ग्रिनकार्डमा अमेरिकाबाहिर १ बर्षभन्दा लामो समय बसेका, विगतमा शर्तसहितको ग्रिनकार्ड भएका, विगतमा विभिन्न अपराधहरुको पृष्ठभूमि भएका लगायत छन् । तर कुन कुन श्रेणीमा कतिजना थिए भन्ने खुलाइएको छैन । रोकिएकामध्ये कम्तीमा ४ जना आप्रवासी भिसामा पहिलोपटक अमेरिका आउदै गरेकाहरु थिए ।
अक्टोबर २०१८ देखि फेबु्रअरी २०२५ सम्म १८ जना ग्रिनकार्डवाहकरुलाई यसरी रोकिएको थियो भने सन् २०२४ को जनवरीमा थप १ जना आप्रवासी भिसामा आउँदै गरेका नेपालीलाई विमानस्थलमा रोकिएको थियो । त्योबाहेक सन् २०१८ को मार्च, जुलाई र डिसेम्बरमा थप ३ जना आप्रवासी भिसामा आउँदै गरेका नेपालीलाई विमानस्थलमा रोकिएको थियो । सन् २०१८ को फेब्रुअरीमा २, सन् २०१७ को डिसेम्बरमा १, जुनमा १ र मे मा १ जना ग्रिनकार्डवाहकरु नेपालीलाई अमेरिका आउने क्रममा रोकिएको थियो । बाँकी सबै त्यो भन्दा अगाडि अमेरिका आउने क्रममा विमानस्थलमा रोकिएकाहरु हुन् ।
ट्रम्प प्रशासन आइसकेपछि फेब्रुअरीमा १ जना ग्रिनकार्डवाहकलाईमात्र विमानस्थलमा रोकेर पक्राउ गरी देशनिकालाको प्रकृयाका लागि अदालतमा रिफर गरिएको थियो । जनवरीमा २ जनालाई रोकिएपनि उनीहरु बाइडेनकालमा नै रोकिएका थिए वा ट्रम्प प्रशासन आइसकेपछि रोकिएका हुन् भन्ने प्रष्ट छैन । ग्रिनकार्डवाहकलाई विमानस्थलमा रोक्ने, स्वेच्छिक रुपमा ग्रिनकार्ड त्याग्न लगाएर विमानस्थलबाटै फिर्ता पठाउने, देशनिकालाको प्रकृयाका लागि नोटिस टु अपियर जारी गरेर अदालतमा रिफर गर्ने प्रकृयाहरु ब्यापक नभएपनि असम्भव प्रकृया भने होइनन् ।
अहिलेसम्म सीबीपीले ५० हजारभन्दा बढी ग्रिनकार्डवाहकलाई विमानस्थलमा रोकेको छ । त्यसमध्ये झण्डै २२ हजार सन् २०१८ पछि रोकिएकाहरु छन् भने ट्रम्प प्रशासन आइसकेपछि पनि झण्डै १५ सयजना ग्रिनकार्डवाहकहरुलाई विभिन्न पोर्ट अफ इन्ट्री र विमानस्थलहरुमा रोकिएको छ । ट्रम्प प्रशासन आइसकेपछि फेबु्रअरीमा रोकिएका ३३७ मध्ये २१२ जनालाई नोटिस टु अपियर जारी गरिएको थियो भने ९७ जनालाई परोल गरेर अमेरिका प्रवेश दिइएको थियो । त्यस्तै १९ जनाले स्वेच्छिक रुपमा ग्रिनकार्ड त्यागेका थिए भने ३ जनालाई तीब्र गतिको देशनिकालामा राखिएको थियो । ५ जनालाई झिटिगुण्टासहित देशनिकाला गरिएको थियो ।
त्यस्तै मार्चमा ३५२ जनालाई रोकिएकोमा १९५ जनालाई नोटिस टु अपियर जारी गरिएको थियो भने १२५ जनालाई परोल गरिएको थियो । त्यस्तै २६ जनाले स्वेच्छिक रुपमा ग्रिनकार्ड त्यागेका थिए भने ३ जनालाई तीब्र गतिको देशनिकालामा राखिएको थियो । ५ जनालाई झिटिगसण्टासहित देशनिकाला गरिएको थियो । अप्रिलमा २५७ जनालाइै रोकिएकोमा १४३ जनालाई नोटिस टु अपियर जारी गरिएको थियो भने ९३ जनालाई परोल गरिएको थियो । १९ जनाले स्वेच्छिक रुपमा ग्रिनकार्ड त्यागेर विमानस्थलबाटै स्वदेश फर्केका थिए ।
मे महिनामा २६९ जनालाई रोकिएकोमा १३८ जनालाई नोटिस टु अपियर जारी गरिएको थियो भने १०२ जनालाई परोल गरिएको थियो । २१ जनाले स्वेच्छिक रुपमा ग्रिनकार्ड त्यागेर विमानस्थलबाटै स्वदेश फर्केका थिए । जुन महिनामा २६९ जनालाई रोकिएकोमा १३४ जनालाई नोटिस टु अपियर जारी गरिएको थियो भने १०४ जनालाई परोल गरिएको थियो । २७ जनाले स्वेच्छिक रुपमा ग्रिनकार्ड त्यागेर विमानस्थलबाटै स्वदेश फर्केका थिए ।








