अमेरिकामा अँग्रेजी बोल्न नजान्ने नेपाली झण्डै ४० प्रतिशत, विगतको तुलनामा सुधार
प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार
अमेरिकामा नेपाली जनसंख्या तीव्र गतिमा बढिरहेको भए पनि ठूलो संख्यामा नेपालीहरुले अंग्रेजी भाषामा निपुणता हासिल गर्न चुनौतीहरूको सामना गरिरहेका छन्। एसियन अमेरिकन फेडरेशन डेटा सेन्टर र हालैको प्यू रिसर्चको तथ्यांकले यस्तो देखाएको छ।
एसियन अमेरिकन फेडरेशन डेटा सेन्टरको तथ्यांकअनुसार, न्यूयोर्क शहरमा बसोबास गर्ने ५ वर्षभन्दा माथिका कुल ४१ दशमलव १ प्रतिशत नेपालीहरुको अंग्रेजीमा पकड छैन । यो संख्या विशेष गरी क्वीन्समा बढी देखिएको छ, जहाँ यो दर ४३ प्रतिशत पुगेको छ। न्युयोर्कमा कुल नेपालीमध्ये ४८ दशमलव ७ प्रतिशतले राम्रो अंग्रेजी बोल्ने बताएका छन् भने १० दशमलव २ प्रतिशतले केवल अंग्रेजी बोल्ने बताएका छन्।
न्यूयोर्क शहरमा अँग्रेजीमा पकड नहुने ५ वर्षभन्दा माथिका एसियन अमेरिकनहरु समग्र जनसंख्याको ४२ दशमलव ९ प्रतिशत रहेका छन् । नेपालीको दर पनि लगभग यसैसँग मिल्दोजुल्दो नै रहेको छ । यद्यपि नेपालीको तुलनामा न्यूयोर्क शहरका अँग्रेजी बोल्न नजान्ने बंगालादेशी, बर्मिज, चिनियाँ थाई र जापानीको प्रतिशत भने धेरै छ । तर अँग्रेजीमा पकड नहुने फिलिपिनो, भारतीय र श्रीलंकनको प्रतिशत नेपालीको भन्दा कम रहेको छ ।
न्यूयोर्क शहरमा नेपाली बालबालिकामध्ये १७ दशमलव ५ प्रतिशतमा अंग्रेजीमा पकड छैन । यो संख्या नेपाली वयस्कहरूमा ४२ प्रतिशत पुगेको छ। न्यूयोर्क शहरमा रहेका शतप्रतिशत नेपाली ज्येष्ठ नागरिकहरूमा अँग्रेजीमा पकड नरहेको रिपोर्ट गरिएको छ।
हालैको प्यू रिसर्चको तथ्यांकले राष्ट्रिय स्तरमा पनि यस्तै तस्वीर देखाएको छ। अमेरिकामा लगभग ४० प्रतिशत नेपालीहरूमा अंग्रेजी भाषामा पकड छै्रन । जुन पहिलेको ४९ प्रतिशत भन्दा केही सुधार हो। यो राष्ट्रिय तथ्यांक समग्र नेपाली जनसंख्याको लागि न्यूयोर्क शहरको तथ्यांकसँग मेल खान्छ।
प्यूको तथ्यांकले राष्ट्रिय स्तरमा ५ वर्ष र माथिका ६१ प्रतिशत नेपालीहरूको अंग्रेजीमा पकड रहेको देखाउँछ, जसमध्ये ११ प्रतिशत घरमा मात्र अंग्रेजी बोल्छन् र ५० प्रतिशतले नेपाली लगायतका भाषा बोल्छन् ।
शिक्षाको स्तरले पनि यसमा भूमिका खेलेको छ । राष्ट्रिय स्तरमा २५ वर्ष र माथिका ४९ प्रतिशत नेपालीहरूले हाई स्कूलभन्दा माथिको शिक्षा हासिल गरेका छैनन्, जुन कम अंग्रेजी प्रवीणतासँग सम्बन्धित हुन सक्छ। अमेरिकामा रहेका ५ वर्ष र माथि उमेरका ८५ प्रतिशत नेपाली अमेरिकीहरू घरमा नेपाली भाषा बोल्छन्, जुन प्रमुख भाषा हो।
युएस सेन्सस ब्यूरोको तथ्यांकले एक दशकमा नेपालीमात्र जनसंख्यामा २९५ दशालव ५ प्रतिशत को उल्लेखनीय वृद्धिू र नेपालीमात्र वा कुनै पनि संयोजन जनसंख्यामा २६९ प्रतिशतको वृद्धिू देखाएको छ । २५० प्रतिशत भन्दा बढीको यो वृद्धिले २०१० मा ५०,००० वा सोभन्दा बढी जनसंख्या भएका समूहहरूमध्ये नेपाली जनसंख्यालाई सबैभन्दा छिटो बढिरहेको एसियनमात्र र एसियनमात्र वा कुनै पनि संयोजन समूहको रूपमा स्थापित गरेको छ।
२०२३ सम्ममा सेन्सस ब्यूरोले अमेरिकामा लगभग २,२५,००० मानिसहरूले आफूलाई नेपालीको रूपमा चिनाएको तथ्यांक सार्वजनिक गरेको छ । यद्यपी अमेरिकामा रहेका नेपालीहरुको संख्या यो भन्दा धेरै रहेको अन्य विभिन्न तथ्यांकहरुले देखाउँछ । नेपाली भाषी समेत जोड्दा यो संख्या झण्डै ५ लाख हुन आउँछ ।








