अमेरिकाको हवाईमा किन खसालियो ड्रोनबाट लामखुट्टे ?
प्रकाशित मिति : श्रावण १०, २०८२ शनिबार
अमेरिकाको हवाईमा लोपोन्मुख चरा बचाउन लाखौं लामखुट्टे ड्रोनबाट खसालिएको छ । जुन महिनामा हवाईका जंगलमाथि आकाशबाट सयौं जैविक रूपमा नष्ट हुने क्याप्सुल खसेका थिए । ती सबै ड्रोनबाट खसालिएका थिए । हरेकमा करिब १ हजार लामखुट्टे थिए।
ती लामखुट्टे प्रयोगशालामा पालन गरिएको, टोक्न नसक्ने प्रजातिका भाले लामखुट्टे थिए । जसमा वोलवाचिया नामक एक सामान्य ब्याक्टेरिया पाइन्थ्यो ।
जब यी लामखुट्टे जंगली पोथीसँग संलग्न हुन्छन्, तिनीहरूले उत्पादन गर्ने अण्डा नफुट्ने बनाउँछ । यस प्रविधिबाट हवाईमा तीव्र रूपमा बढेको लामखुट्टेको संख्या नियन्त्रण गर्ने आशा गरिएको छ । जसले हाल हवाईका थुप्रै दुर्लभ चरा प्रजाति, विशेषतः हनीक्रिपर लाई नष्ट गरिरहेको छ ।
यी चराहरू परागसंकरण र बीउ छर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्दछन् । हवाई संस्कृतिमा केन्द्रीय स्थान राख्दछन् । पहिले ५० भन्दा बढी हनीक्रिपर प्रजाति हवाईमा पाइन्थ्यो, तर अहिले केवल १७ बाँकी छन् । तीमध्ये अधिकांश संकटग्रस्त अवस्थामा छन्।
पछिल्लो वर्ष सानो खरानी रंगको ‘अकिकिकी’ चरालाई जंगली प्रकृतिमा लोप मानिएको थियो । हरियो–पहेंलो ‘अकेके’ को संख्या १०० भन्दा कम भएको अनुमान गरिएको छ।
अमेरिकी बर्ड कन्जर्भेन्सी का हवाई कार्यक्रम निर्देशक डा क्रिस फार्मरका अनुसार यी चराहरूका लागि सबैभन्दा ठूलो “अस्तित्वगत संकट” भनेको लामखुट्टेबाट फैलिने पंक्षी मलेरिया हो ।
यी लामखुट्टे हवाईका जन्मजात होइनन् । सन् १८२६ मा ह्वेल सिपहरूको माध्यमबाट ल्याइएको अनुमान छ। पहिले यी चरा थोरै तातो भन्दा चिसो उच्च पहाडी क्षेत्रमा सुरक्षित थिए ।
तर जलवायु परिवर्तनका कारण लामखुट्टे अहिले ती क्षेत्रहरूमा पनि फैलिन थालेका छन्। लामखुट्टेहरू क्रमशः पहाड चढ्दैछन्, र चराहरू माथि–माथि धकेलिँदैछन् । रसायन प्रयोगले अन्य लाभदायी किराहरू जस्तै ड्याम्सलफ्लाई र फलफुल किराहरूलाई असर गर्ने भएकाले, संरक्षणकर्मीहरू लामखुट्टे नियन्त्रणका वैकल्पिक उपाय खोजिरहेका थिए।
सन् २०२३ मा माउई र काउआई टापुका हनीक्रिपर बसोबास गर्ने क्षेत्रहरूमा हेलिकप्टरबाट जैविक क्याप्सुलमा लामखुट्टे खसाल्ने अभियान सुरु गरियो । हाल साप्ताहिक रूपमा माउई र काउआई दुवैमा ५ लाख–५ लाख लामखुट्टे छाडिँदैछ।
तर दुर्गम र पहाडी भू–भाग, कमजोर मौसम, र महंगो हेलिकप्टर प्रयोगका कारण अभियानमा कठिनाइ आइरहेको थियो। त्यसैले परीक्षण पछि ड्रोनबाट लामखुट्टे खसाल्न सुरु गरिएको हो। ड्रोन प्रयोगले मिशनको लागत, समय, प्रदूषण र जोखिम सबै घटाएको छ।
यदि लामखुट्टेको संख्या नियन्त्रणमा ल्याउन सकियो भने, हनीक्रिपरहरूको जनसंख्या फेरि बढ्न सक्छ । उनीहरुले अनुवांशिक विविधता प्राप्त गर्न सक्छन । दीर्घकालीन रूपमा मलेरियाप्रति प्रतिरोध पनि विकसित हुन सक्छ।






