ट्रम्प र युरोपेली संघकी अध्यक्षबीच स्कटल्याण्डमा निर्णायक व्यापार वार्ता : सम्झौता कि संघर्ष ?
प्रकाशित मिति : श्रावण १०, २०८२ शनिबार
युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डर लायन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आइतबार स्कटल्याण्डमा निर्णायक व्यापार वार्ता हुने भएको छ। यो वार्ता युरोपेली संघ र अमेरिकाबीचको व्यापारिक तनावको समयका हुन लागेको हो।
भोन डर लायनले शुक्रबार सामाजिक सञ्जाल एक्समा लेख्दै भनिन्, “राष्ट्रपति ट्रम्पसँगको सकारात्मक फोन वार्तालापपछि हामीले आइतबार स्कटल्याण्डमा भेटेर ट्रान्सएटलान्टिक व्यापार सम्बन्ध र त्यसलाई कसरी मजबुत राख्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने सहमति गरेका छौँ।”
राष्ट्रपति ट्रम्पले युरोपेली संघसँगको व्यापार सम्झौताको सम्भावनालाई ‘५०-५०’ को रूपमा व्याख्या गरेका छन्। ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले भने, “हामीसँग सम्झौता गर्ने ५० प्रतिशत सम्भावना छ, सायद त्योभन्दा कम पनि। तर प्रयास जारी छ।”
उनी युकेको निजी भ्रमणमा रहेका छन् । त्यही अवसरमा बेलायती प्रधानमन्त्री कीर स्टार्मरसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
तीन हप्ता अघि इयू र अमेरिका १० प्रतिशतको आधारभूत ट्यारिफ (आयात शुल्क)मा सहमत हुने नजिक पुगेका थिए। तर, ट्रम्पले त्यो प्रयासमा अवरोध पुर्याउँदै ३० प्रतिशतसम्मको ट्यारिफ लगाउने धम्की दिएका थिए। ट्रम्पको नयाँ ट्यारिफ लागू हुने मिति जुलाई ९ तोकिएको भए पनि अब त्यो म्याद अगस्ट १ सम्म सारिएको छ।
इयूका कूटनीतिज्ञहरूका अनुसार ट्रम्पसँग १५ प्रतिशतको आधारभूत ट्यारिफमा सम्झौता हुने अपेक्षा गरिएको छ।
ट्रम्पले अप्रिलमा ६० वटा व्यापारिक साझेदारहरूमाथि उच्च ट्यारिफ (केही अवस्थामा ५० प्रतिशतसम्म) घोषणा गरेका थिए। उनका अनुसार, कुनै पनि सम्झौता तब मात्र हुन्छ जब इयूले आफ्नो हालको ३० प्रतिशत ट्यारिफ घटाएर अमेरिकी निर्यातलाई सहज बनाउँछ।
यदि ट्रम्पले हाल तयार भइरहेको सम्झौतामा अवरोध गरे, भने इयूले कडा जवाफ दिने तयारी गरेको छ। इयू देशहरूले बिहीबार मात्रै ९३ अर्ब बराबरका अमेरिकी वस्तुहरूमा ट्यारिफ लगाउने निर्णय गरेका छन्।
गत वर्ष अमेरिकाले इयू मा करिब ३७० अर्ब डलर बराबरका वस्तुहरू निर्यात गरेको थियो। यो व्यापारमा सम्भावित टकरावका कारण ठूलो संख्यामा अमेरिकी निर्यात प्रभावित हुन सक्छ।






