अमेरिकी चाहना विपरीत फ्रान्सद्वारा प्यालेस्टाइनलाई आधिकारिक मान्यता दिने घोषणा
प्रकाशित मिति : श्रावण ८, २०८२ बिहीबार
फ्रान्सले सेप्टेम्बरमा प्यालेस्टाइनलाई आधिकारिक मान्यता दिने घोषणा गरेको छ । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले फ्रान्सले आउँदो सेप्टेम्बरमा प्यालेस्टाइनलाई एक स्वतन्त्र राज्यको रूपमा औपचारिक मान्यता दिने घोषणा गरेका हुन । यससँगै फ्रान्स यस्तो निर्णय गर्ने पहिलो जी ७ राष्ट्र बन्नेछ ।
राष्ट्रपति म्याक्रोंले एक्स मा पोस्ट गर्दै भने, “आजको अत्यावश्यक आवश्यकता गाजाको युद्ध अन्त्य गर्नु र त्यहाँका सर्वसाधारणको उद्धार गर्नु हो । शान्ति सम्भव छ । हामीलाई तुरुन्त युद्धविराम, सबै बन्दीहरूको रिहाइ, र गाजावासीलाई ठुलो मात्रामा मानवीय सहायता आवश्यक छ।”
फ्रान्सको तर्फबाट यो मान्यता राष्ट्रसंघको महासभाको आगामी सत्रमा न्यूयोर्कमा औपचारिक रूपमा घोषणा गरिनेछ। फ्रान्सको यो निर्णयमा प्यालेस्टिनी अधिकारीहरूले स्वागत गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने यसलाई ‘आतङ्कको पुरस्कार’ भनेका छन्।
उनले एक्स मा लेखे, “७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलमा गरिएको हत्याकाण्डपछि प्यालेस्टाइनलाई मान्यता दिनु घोर निन्दनीय छ । यस्ता अवस्थाहरूमा प्यालेस्टिनी राज्य स्थापना गर्नु इजरायललाई नष्ट गर्ने प्रक्षेपण स्थल बनाउने हो, सहअस्तित्व होइन।”
राष्ट्रपति म्याक्रोंले मध्यपूर्वमा न्यायसंगत र दीर्घकालीन शान्तिका पक्षमा फ्रान्सको ऐतिहासिक प्रतिबद्धतामा साँचो रहँदै फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दिने निर्णय गरेको बताएका हुन । हमासको निशस्त्रीकरण पनि सुनिश्चित गर्नुपर्छ, गाजाको पुनर्निर्माण र सुरक्षाको प्रत्याभूति दिनुपर्छ उनले प्रष्ट भनेका छन ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासलाई लेखिएको पत्रमा म्याक्रोंले आफ्नो निर्णय पुष्टि गरेका छन् । हमासले यो निर्णयलाई “सकारात्मक र सही दिशातर्फको कदम” भन्दै सबै देशहरूलाई फ्रान्सको अनुसरण गर्न आह्वान गरेको छ । साउदी अरबको विदेश मन्त्रालयले फ्रान्सको निर्णयको प्रशंसा गरेको छ ।
१९३ राष्ट्रसंघ सदस्यमध्ये हालसम्म १४० भन्दा बढी देशहरूले प्यालेस्टाइनलाई मान्यता दिइसकेका छन् । युरोपेली युनियनका केही देशहरू—स्पेन, आयरल्यान्ड पनि मान्यता दिने देशहरूमा पर्छन् । तर अमेरिका, बेलायत जस्ता इजरायलका प्रमुख समर्थक राष्ट्रहरूले अहिलेसम्म प्यालेस्टाइनलाई मान्यता दिएका छैनन् ।
गाजामा भएको युद्धमा अहिलेसम्म ५९ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । फ्रान्सको निर्णयले अहिलेको जटिल मध्यपूर्व संकटमा महत्वपूर्ण राजनीतिक तरंग ल्याउने देखिएको छ ।
यो कदमले अन्य पश्चिमी राष्ट्रहरूलाई पनि प्यालेस्टाइनलाई मान्यता दिने निर्णयमा पुनर्विचार गराउन सक्ने विश्लेषकहरुले अनुमान गरेका छन ।






