विश्वका चर्चित अमेरिकी रेस्लिङ स्टार होगनको निधन
प्रकाशित मिति : श्रावण ८, २०८२ बिहीबार
विश्वका चर्चित रेस्लिङ स्टारमध्ये एक अमेरिकी रेस्लिङ स्टार हलक होगनको ७१ वर्षको उमेरमा निधन भएको छ ।
होगनको वास्तविक नाम टेरी जीन बोलिया हो । आफ्नो लामो सुनौलो कपाल, प्रसिद्ध ह्यान्डलबार जुँगा र रंगीन व्यक्तित्वका कारण उनी संसारभरका रेस्लिङ प्रेमीहरूबीच अत्यन्त लोकप्रिय थिए ।
उनको निधन बिहीबार फ्लोरिडास्थित आफ्नै घरमा हृदयघातका कारण भएको हो । उनका म्यानेजर क्रिस भोलेले जानकारी दिएअनुसार, उनलाई बिहान १० बजे आपतकालीन स्वास्थ्य सेवा बोलाएर अस्पताल लगिएको थियो ।
तर उपचारका क्रममा मृत्यु भएको घोषणा गरिएको हो । प्रहरीले घटनामा कुनै आपराधिक आशंका नरहेको जनाएको छ ।
होगनले आफ्नो रेस्लिङ यात्रा सन् १९७७ मा सुरु गरेका थिए । तर उनी १९८३ मा वर्ल्ड रेस्लिङ फेडेरेसनमा आवद्ध भएपछि एकाएक सुपरस्टार बनेका हुन ।
८० को दशकमा रेस्लिङको विश्वव्यापी लोकप्रियता बढ्दा उनी अग्रपंक्तिमा थिए । उनले पहिलो रेसलमेनिया मा १९८५ मा श्री टीसँग जोडी बाँधेर ‘रोडी पाइपर’ र ‘पल ओर्नडर्फ’ विरुद्ध भिडेका थिए ।
उनले ६ पटक डब्लुडब्लुइ च्याम्पियनसिप जिते । रेसलमेनियाको मुख्य कार्यक्रम ८ पटक नेतृत्व गरे। उनलाई सन् २००५ मा डब्लुडब्लुइ हल अफ फेममा समावेश गरिएको थियो।
होगनले केवल रेस्लिङमा मात्र होइन, हलिउडमा पनि राम्रो पहिचान बनाएका थिए । उनले थुप्रै फिल्म र टेलिभिजन कार्यक्रमहरूमा अभिनय गरे।
२००५ देखि २००७ सम्म भिएच वान मा प्रसारित रियलिटी शो होगन नोज बेस्ट ले पनि उनलाई नयाँ पुस्ताबीच लोकप्रिय बनायो।
हालका वर्षहरूमा होगन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रखर समर्थक बनेका थिए। ट्रम्पले सामाजिक सञ्जालमा महान मित्र गुमाएको भन्दै दु्ख व्यक्त गरेका छन ।
सन् २०२४ मा रिपब्लिकन नेशनल कनभेन्सनमा होगनले ट्रम्पको समर्थनमा भाषण दिएपछि धेरै चर्चा बटुलेका थिए।
सन् २०१५ मा होगनको एक भिडियो सार्वजनिक भएपछि डब्लुडब्लुइ ले उनीसँगको सम्झौता तोडेको थियो । उक्त भिडियोमा उनले जातीय अपमानजनक शब्द प्रयोग गरेका थिए।
तर सन् २०१८ मा डब्लुडब्लुइ ले उनलाई पुनः हल अफ फेममा समावेश गर्दै ‘दोस्रो मौका दिइएको’ जनाएको थियो । यद्यपि धेरै रेस्लरहरूले त्यसमा असहमति जनाएका थिए।






