अमेरिकामा ४ विद्यार्थीको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय
प्रकाशित मिति : श्रावण ७, २०८२ बुधबार
ब्रायन कोहबर्गरलाई अमेरिकी अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।
सन् २०२२ नोभेम्बरमा आइडाहोका चार विद्यार्थीको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै उनलाई अदालतले चारवटै हत्याका लागि आजीवन कारावासको सजाय सुनाएको हो । यी चारवटा सजायहरू लगातार रूपमा लागु हुनेछन्।
पूर्व अपराधशास्त्र विद्यार्थी ३० बर्षीय कोहबर्गर फैसला सुनुवाइका क्रममा सुन्तला रंगको जेल पोशाकमा अदालतमा स्तब्ध मुद्रामा बसिरहेका थिए । उनले आफ्ना अपराधको सजायबाट मृत्युदण्ड बचाउन अभियोग स्वीकार गरेका थिए।
यो घटनाले सानो कलेज शहर मोस्कोलाई हल्लाएको थियो । कोहबर्गरको गिरफ्तारी हुन झन्डै दुई महिना लागेको थियो । घटनाले राष्ट्रिय स्तरमै व्यापक चासो जगाएको थियो।
न्यायाधीश स्टिभन हिपलरले भने, “म ब्रायन कोहबर्गरमा केही पनि सकारात्मक कुरा देख्न सक्दिन । उनका कर्महरूले उनलाई सबैभन्दा घिनलाग्दा अपराधी बनाएको छ।”
१३ नोभेम्बर २०२२ को बिहान, कोहबर्गरले अफ क्याम्पस घरमा रहेका विद्यार्थीहरू केयली गनकाभ्स, एथन चेपिन, जेक्सा कर्नोडल र म्याडिसन मोगनलाई छुरा हानी हत्या गरेका थिए । सोही घरमा रहेका अन्य दुई रूममेटहरू भने सुरक्षित रहेका थिए ।
प्रहरीले घटनास्थलमा छुटेको छुरीको खोलबाट प्राप्त डीएनए, फोन रेकर्ड तथा उनको सेतो गाडीको निगरानी फुटेजमार्फत् अनुसन्धान अघि बढाएको थियो ।
अन्ततः उनलाई ३० डिसेम्बरमा पेनसिलभेनियास्थित आफ्नै घरबाट पक्राउ गरियो । उनलाई चोरीको अभियोगमा पनि १० वर्षको सजाय सुनाइएको छ ।
फैसला सुनाउनु अघि पीडित परिवारका सदस्यहरूले करिब दुई घण्टासम्म भावुक वक्तव्य दिएका थिए ।






