एपस्टिनसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश
प्रकाशित मिति : श्रावण ७, २०८२ बुधबार
अमेरिकी न्यायाधीशले दिवंगत बाल यौन दुर्व्यवहार अभियुक्त जेफ्री एपस्टिनसम्बन्धी छानबिनबाट संकलित ग्रान्ड जुरीका कागजातहरू सार्वजनिक गर्न रोक लगाएको छ ।
ट्रम्प प्रशासनले ती कागजात सार्वजनिक गर्नका लागि अदालतमा अनुमति माग गरेको थियो । तर अदालतका न्यायाधीशले प्रशासनको अनुरोधलाई अस्वीकार गरेका हुन ।
न्यायाधीश रोबिन रोसेनबर्गले फ्लोरिडामा एपस्टिनविरुद्ध सन् २००६ मा भएको अनुसन्धानबाट संकलित कागजातहरू सार्वजनिक गर्नु फ्लोरिडा राज्यको कानुनको उल्लंघन हुने भन्दै निवेदन अस्वीकार गरेकी हुन् ।
ट्रम्प प्रशासन एपस्टिनसम्बन्धी कागजातको व्यवस्थापनमा आलोचनाको सामना गरिरहेको बेला अदालत समक्ष प्रशासनले अनुमति मागेको थियो ।
यसैबीच द वाल स्ट्रीट जर्नल ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम एपस्टिनसम्बन्धी न्याय मन्त्रालयसँग रहेको अनुसन्धान कागजातमा रहेको दाबी गरेको छ ।
तर, उक्त कागजातमा कसैको नाम उल्लेख हुनु आफैंमा कुनै आपराधिक प्रमाण भने होइन। ह्वाइट हाउसका प्रवक्ताले “डेमोक्र्याट र उदारवादी मिडियाद्वारा बनाइएका नक्कली समाचारको निरन्तरता” भनी खण्डन गरेका छन ।
न्याय मन्त्रालयले पनि त्यस रिपोर्टलाई “झुट र अफवाहहरूको संग्रह” भनेर आलोचना गरेको छ । ट्रम्पले ग्रान्ड जुरीका सबै कागजातहरू सार्वजनिक गर्न माग गरेका थिए । जसअनुसार न्याय मन्त्रालयले फ्लोरिडा र न्यूयोर्क राज्यका अदालतहरूमा फाइल सार्वजनिक गर्न अनुरोध गरेको थियो।
तर, न्यायाधीश रोसेनबर्गले ग्रान्ड जुरी गोपनीयता सम्बन्धी संघीय नियमको कारण ती कागजातहरू सार्वजनिक गर्न नमिल्ने बताउँदै भनिन्, “अदालतको हात बाँधिएको छ।”
सरकारले जनहित र पारदर्शिताको आधारमा फाइल खोल्नुपर्ने दाबी गरे पनि त्यो विशेष अवस्थामा लागू हुने कानुनी मापदण्डमा नपरेको निर्णयमा उल्लेख छ ।
ती कागजातहरू एपस्टिनमाथि नाबालिक केटीलाई यौन क्रियाकलापमा सहभागी गराएको अभियोगमा गरिएका अनुसन्धानसँग सम्बन्धित हुन् ।
उक्त अनुरोध न्यूयोर्कको न्यायाधीशलाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव पनि रोसेनबर्गले अस्वीकार गरिन् । ट्रम्पले चुनावी प्रचारका क्रममा एपस्टिनसम्बन्धी सबै फाइलहरू सार्वजनिक गर्ने वाचा गरेका थिए।
तर, अटर्नी जनरल पाम बन्डीले यस महिनाको सुरुतिर एपस्टिनको “कुनै पनि आपराधिक क्लाइन्ट सूची” फेला परेको छैन र उनले आत्महत्या नै गरेका थिए भनेपछि आलोचना सुरु भएको थियो ।






