घुँडासम्म पानी, मनसम्म प्रेम : बाढीले डुबेको चर्चमा ऐतिहासिक विवाह
प्रकाशित मिति : श्रावण ६, २०८२ मंगलबार
बाढीले चर्च जलमग्न बनाएको थियो । तर, प्रेमको बाढीलाई रोक्न सकेन् ।
फिलिपिन्सको बुलाकान प्रान्तको ऐतिहासिक बारासोइन चर्चमा मंगलबार एउटा असाधारण विवाह सम्पन्न भयो, जहाँ बेहुला बेहुलीले डुबेको मण्डप हुँदै हात समातेर जीवनभर सँगै हिँड्ने कसम खाए।
जेड रिक भेर्डिल्लो र जमैका अगुइलार नाम गरेका यो जोडीले मंगलवारको दिन विवाह गर्ने पुरानै योजना बनाएका थिए। तर, त्यही दिन टाइफुन ‘ह्विपा’ ले फिलिपिन्समा मनसुन वर्षालाई तीव्र बनाउँदै बारासोइन चर्च जलमग्न बनायो।
वर्षा र बाढीको चपेटामा परे पनि यो जोडीले आफ्नो सपना पुरा गर्न पछि हटेन।
“हामीलाई पहिले नै थाहा थियो, बाढी आउन सक्छ,” बेहुला भेर्डिल्लोले भने, “तर यदि आज हामीले यो कदम चाल्दैनौं भने, भविष्यमा अझ धेरै त्यागहरू गर्नुपर्ने हुन्थ्यो। यो विवाह आफैंमा एउटा बलिदान हो।”
बिहेको दिन चर्चभित्र पानी लगभग घुँडासम्म थियो। बेहुली जमैका अगुइलार सेतो गाउनमा मण्डपतिर अघि बढिन्, उनको लुगाको पछिल्लो भाग पानीमा तैरिरहेको थियो। अर्कोतर्फ, बेहुला भेर्डिल्लो परम्परागत फिलिपिनी ‘बारोङ तागालोग’ लगाएर वेदीमा उनको प्रतीक्षा गर्दै थिए।
यो जोडीले एक(अर्कासँग १० वर्ष लामो सम्बन्धपछि विवाह बन्धनमा बाँधिने निर्णय लिएका थिए । “जीवनमा चुनौतीहरू सकिँदैनन्,” बेहुलाले भने, “यो त केवल एउटा परीक्षा हो, जुन हामीले पार गर्यौं।”
वर्षा, बाढी र तुफानको बाबजुद परिवार र केही साथीहरू समारोहमा सहभागी भए। सबैको अनुहारमा खुसी झल्किरहेको थियो।
विवाहमा सहभागी पाहुना जिग्गो सान्तोसले भने, “तपाईंले देख्नुभयो, प्रेमले जित्यो। मौसम, तुफान, वर्षा र बाढी कुनै कुराले विवाह रोक्न सकेन। यो साँच्चिकै असाधारण विवाह हो।”






