युक्रेनी आक्रमणपछि बन्द गरिएका मस्कोका विमानस्थलहरू सुचारु


प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार

रुसको राजधानी मस्कोका बन्द गरिएका विमानस्थलहरू सुचारु गरिएको छ । विमानस्थल बन्द भएपछि सयौं उडानहरु रद्द भएका थिए ।

युक्रेनले मस्कोको आकाशमा ड्रोन आक्रमण बढाएपछि विमानस्थल बन्द गर्नुपरेको रुसी अधिकारीहरुले बताएका छन ।

राजधानी मस्कोका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन् । कम्तीमा १४० उडानहरू रद्द गरिएका छन् ।

रुसी रक्षा मन्त्रालयका अनुसार अहिलेसम्म २३० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालिएका छन् । जसमध्ये २७ वटा मस्को क्षेत्रमै थिए ।

राजधानी मस्कोका चारवटा ठूला विमानस्थलहरूमा विमान सेवा प्रभावित भएको छ ।

१३० भन्दा बढी उडानहरूलाई अन्यत्र मोड्नु परेको थियो । यद्यपि अब सबै विमानस्थलहरू पुनः सामान्य अवस्थामा फर्किएको बताइएको छ।

रुसको कलुगा क्षेत्र, जुन मस्कोको दक्षिणपश्चिममा पर्छ । त्यहाँ पनि ४५ वटा ड्रोन खसालिएको रक्षा मन्त्रालयले जनाएको छ । त्यस कारणले कलुगा अन्तर्राष्ट्रिय विमानस्थल पनि अस्थायी रूपमा बन्द गरिएको थियो।

ड्रोनहरू युक्रेनी सीमामा पर्ने रोस्तोभ र ब्रियान्स्क क्षेत्रहरू तथा कालो सागर क्षेत्रमाथि पनि खसालिएको बताइएको छ । यस क्रममा रुसमा कुनै मानवीय क्षति नभएको जनाइएको छ।

रुसी पर्यटन संघका अनुसार मस्कोका विमानस्थलहरू पछिल्ला २४ घण्टामा १० पटक बन्द गरिएका थिए । यसअघि पनि युक्रेनी ड्रोन आक्रमणका कारण रुसमा विमान यात्रा प्रभावित भएको थियो ।

मे महिनामा मात्रै २४ घण्टाभित्र युक्रेनले ५०० भन्दा बढी ड्रोन पठाउँदा ६० हजार भन्दा बढी यात्रु विमानस्थलमा अलपत्र परेका थिए।

यता युक्रेनमा रुसी वायु आक्रमणका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । डोनेत्स्कका दुई स्थानमा आक्रमण हुँदा दुई जनाको र सुमी क्षेत्रमा एक ७८ वर्षीया महिलाको ज्यान गएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

युक्रेनी वायु सेनाले रातभरिमा रुसले पठाएका ५७ ड्रोनमध्ये १८ ड्रोन खसालेको दाबी गरेको छ । थप सात ड्रोनहरू रेडार जाम भएपछि हराएका थिए ।

सुमी र डोनेत्स्क बाहेक खार्किभ, ड्निप्रोपेट्रोस्क र जापोरिझिया क्षेत्रमा पनि आक्रमण गरिएको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग शान्ति वार्तातर्फ जान इच्छुक रहेको तर मुख्य प्राथमिकता ‘लक्ष्य हासिल गर्नु’ नै रहेको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com