चर्चित कमेडियन एलेनले किन अमेरिका छोडिन ?
प्रकाशित मिति : श्रावण ४, २०८२ आईतबार
अमेरिकी टेलिभिजनकी चर्चित होस्ट तथा कमेडियन एलेन डि जेनेरेसले अमेरिका छोडेको बताएकी छन । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएपछि बेलायतमा बसाइ सर्ने निर्णय गरेको उनले खुलासा गरेकी छन्।
उनले बेलायतको ग्लोसेस्टरशायरस्थित चेल्टनह्याम सहरमा आयोजित एक कार्यक्रममा भनिन्, ‘यहाँको जीवन अमेरिका भन्दा राम्रो छ।’ एलेनले ट्रम्पको जितको खबर सुनेको भोलिपल्टै उनले र उनकी श्रीमती पोर्सिया डि रोसीले बेलायतमै स्थायी रूपमा बस्ने निर्णय गरेका थिए।
‘हामी निर्वाचनको अघिल्लो दिन बेलायत आइपुग्यौं । भोलिपल्ट हामीलाई अमेरिका बाट रोएका इमोजी भएका थुप्रै मेसेज आए,’ उनले भनिन्, ‘उनी फेरि निर्वाचित भए’ भन्ने थाहा पाएपछि हामीले भनेका थियौं – ‘अब हामी यहीँ बस्छौं।’ एलेन अहिले कोटस्वोल्ड्स भन्ने प्राकृतिक सौन्दर्यले भरिएको क्षेत्रमा बसिरहेकी छन्।
उनले आफ्नो नयाँ जीवनशैलीबारे सामाजिक सञ्जालमा फार्म जनावरहरूसहित भिडियोहरू पनि सेयर गरेकी छन्।
एलेन र पोर्सियाले २००८ मा क्यालिफोर्नियामा विवाह गरेका थिए । उनले भनिन् कि अहिले अमेरिका भित्र समलिंगी विवाहको अधिकार उल्ट्याउने प्रयास भइरहेका छन् । जसका कारण उनीहरूले बेलायतमै पुनः विवाह गर्ने सोच बनाएका छन्।
‘ब्याप्टिस्ट चर्चले समलिंगी विवाह रोक्न चाहिरहेको छ । यदि त्यसो भयो भने हामी बेलायतमै पुनः विवाह गर्नेछौं,’ एलेनले बताइन्।
एलेनले समलिंगीको रूपमा खुलेर आउनु आज पनि गाह्रो हुने बताइन्। ‘धेरै जना कलाकारहरू म जान्दछु – जो समलिंगी हुन् – तर अझै खुलेका छैनन्। किनभने त्यो अझै पनि डरको कुरा हो,’ उनले भनिन्।
‘म चाहन्छु हामी यस्तो समाजमा बाँच्न सकौं जहाँ सबैले अरूको फरकपनलाई स्वीकार गर्न सकून्।’
एलेनको टक शो सन् २०२२ मा अन्त्य भएको थियो । त्योभन्दा अघिल्लो वर्ष केही कर्मचारीहरूले विषाक्त कार्यस्थलको आरोप लगाएका थिए । यसबारे उनले भने, ‘म सिधा कुरा गर्छु, केही कुरामा स्पष्ट हुन्छु, त्यसैले मलाई खराब भन्नु भयो होला।’
तर उनले त्यो आरोपहरूलाई ‘क्लिकबेट’ भनेर खारेज गरिन्। ‘मलाई थाहा छ म संवेदनशील र सहानुभूति राख्ने व्यक्ति हुँ,’ उनले भनिन्।
उनले आफ्नो अमेरिकी टक शोको अनुभव सम्झिँदै भनिन्, ‘म फेरि त्यस्तै शो गर्न चाहन्छु, तर अबको डिजिटल युगमा मानिसहरू फोनमै सबै हेर्छन्। त्यसैले त्यो पुरानो शैली अब काम गर्दैन।’
तर उनले बेलायतमा केही नयाँ काम गर्ने संकेत दिँदै भनिन्, ‘म रमाइलो गर्न चाहन्छु ।’








