तालिबानको त्रासबाट युएई पुगेका हजारौं अफगानीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको उद्धार सन्देश
प्रकाशित मिति : श्रावण ४, २०८२ आईतबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएईमा वर्षौंदेखि रहेका अफगानी शरणार्थीहरूको उद्धारका लागि पहल गर्ने घोषणा गरेका छन्। उनले आइतबार ट्रुथ सोसलमार्फत यस्तो घोषणा गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले भनेका छन्, “म उनीहरूलाई बचाउने प्रयास गर्छु, अहिलेदेखि नै सुरु गर्छु ।”
यी अफगानीहरू अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि देशबाट भागेर युएई पुगेका थिए। सन् २०२१ मा संयुक्त अरब इमिरेट्सले अमेरिका–समर्थित सरकार ढलेपछि काबुलबाट उद्धार गरिएका हजारौं अफगानहरूलाई अस्थायी रूपमा बसोबास गराउन सहमति दिएको थियो। तीमध्ये केही अझै पनि अनिश्चित अवस्थामै युएईका शिविरहरूमा राखिएका छन्।
जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्प प्रशासनले शरणार्थी पुनःस्थापनामा कडाइ गरेको थियो । साथै, अप्रिलमा उनले अमेरिकामा रहेका हजारौं अफगान नागरिकहरूलाई दिइएको अस्थायी निर्वासन सुरक्षाको कार्यक्रमसमेत अन्त्य गरेका थिए।
युएईमा रहेका अफगान शरणार्थीहरूमध्ये करिब १,००० जनालाई सन् २०२२ मा क्यानडाले पुनःस्थापना गर्न सहमति दिएको थियो। तर, हालसम्म युएईमा कति जना अफगानहरू अझै रहेका छन् भन्नेबारे स्पष्ट जानकारी छैन।
पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले अफगानिस्तानबाट अमेरिकी सेनाको अराजक फिर्तीपश्चात् झन्डै दुई लाख अफगानहरूलाई अमेरिका ल्याइसकेको छ। ती शरणार्थीहरूमा अमेरिकी सेनाका लागि काम गरेका अफगानहरू, अमेरिकी सैनिकका अफगान परिवारजन, पुनर्मिलनका लागि योग्य बालबालिका तथा अन्य अफगान नागरिकहरू समावेश छन्।








