राष्ट्रपति ट्रम्पद्वारा १० बिलियन डलरको मानहानि मुद्दा दायर
प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नलको मूल कम्पनी विरुद्ध मानहानि मुद्दा दायर गरेका छन ।
ट्रम्पले वाल स्ट्रिट जर्नलको मूल कम्पनी डाउ जोन्स र यसको मालिक रूपर्ट मर्डकविरुद्ध १० बिलियन डलरको मानहानि मुद्दा दायर गरेका हुन ।
वाल स्ट्रिट जर्नलमा प्रकाशित एउटा लेखका कारण ट्रम्पले उक्त मुद्दा दायर गरेका हुन् । उनले यौन अपराधी जेफ्री एपस्टिनलाई ‘उज्यालो र अश्लील’ खालको जन्मदिन सन्देश लेखेका थिए भनेर उक्त लेखमा उल्लेख गरिएको छ ।
सन् २००३ मा ट्रम्पले एपस्टिनको ५० औं जन्मदिनको अवसरमा पठाएको भनिएको सो नोट “नक्कली” भएको ट्रम्पको दाबी छ ।
‘हामीले झूटा, दुष्प्रेरित, बदनियतपूर्ण र नक्कली समाचार प्रकाशित गर्ने सबैको विरुद्धमा शक्तिशाली मुद्दा दायर गरेका छौं ,वाल स्ट्रिट जर्नल लाई न्यायिक प्रक्रियामा लगिने छ’ । रूपर्ट मर्डक र उनका ‘साथीहरू’ ले अब लामो समयसम्म जबाफ दिनु पर्नेछ’ भनेर उनले आफनो सामाजिक सञ्जालमा लेखेका छन ।
उनका अनुसार पत्रिका र मर्डकलाई यो खबर छापिएमा मुद्दा हालिने चेतावनी पहिले नै दिइएको थियो । हाम्रो रिपोर्टिङको सत्यता र अनुसन्धान प्रक्रियामा पूर्ण विश्वास गर्छौं र मुद्दाको दृढताका साथ प्रतिवाद गर्नेछौं भनेर वाल स्ट्रिट जर्नलले भनेको छ ।
रूपर्ट मर्डक ट्रम्पका पुराना चिनजानका मित्र हुन् । ट्रम्पसँग उनी २०२५ को फेब्रुअरीमा ह्वाइट हाउसको ओभल अफिसमा देखिएका थिए । केही विश्लेषकहरूका अनुसार मर्डकको मिडिया साम्राज्यले ट्रम्पलाई राष्ट्रपति बन्न सहयोग गरेको थियो ।
वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पको नाममा पठाइएको भनिएको सन्देशमा टाइप गरिएका केही पंक्तिहरू एउटा नाङ्गो महिलाको हातले कोरिएको आकृतिले घेरेको थियो भनेर भनिएको छ ।
उक्त सन्देशमा ट्रम्प र एपस्टिनबीचको काल्पनिक संवाद थियो, जसमा “रहस्य कहिल्यै बुढो हुँदैन” भन्ने व्यंग्यात्मक पंक्ति र अन्त्यमा “एउटा साथी हुनु महान कुरा हो । शुभ जन्मदिन र हरेक दिन नयाँ रहस्यपूर्ण बनोस्” भन्ने लाइन थियो।
ट्रम्प प्रशासनमाथि एपस्टिन मुद्दाको खराब व्यवस्थापनको आलोचना भइरहेका बेला अमेरिकी न्याय मन्त्रालयले एपस्टिनसँग सम्बन्धित गोप्य सामग्रीहरू सार्वजनिक गर्न न्यायाधीशसमक्ष निवेदन दर्ता गराएको छ ।
ट्रम्पले न्यायमन्त्री पाम बोंडी लाई एपस्टिनसम्बन्धी गोप्य प्रमाण सार्वजनिक गर्न आदेश दिएका छन्। केही ट्रम्प समर्थकहरूले बोंडीमाथि दबाब दिँदै राजीनामा माग गरेका छन् ।








