पोल्याण्डमा आप्रवासी विरोधी प्रदर्शन बढ्दै
प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार
पोल्याण्डका विभिन्न सहर तथा नगरहरूमा आप्रवासी विरोधी प्रदर्शनहरू भएका छन् ।
प्रदर्शनहरूमा अधिकांश ठाउँमा सयौं मानिस सहभागी भएका थिए । दक्षिणी सहर काटोविसमा आयोजित सबैभन्दा ठूलो प्रदर्शनमा करिब ३ हजार मानिस सहभागी भएको प्रहरीको अनुमान छ ।
यी प्रदर्शनहरू कडा दक्षिणपन्थी राजनीतिक समूह र अर्को राष्ट्रवादी संगठनले मिलेर आयोजना गरेका थिए ।
कोन्फेडेराच्या र विपक्षी दल लअ एन्ड जस्टिस (पिस) का नेताहरूले पोल्याण्डमा अवैध आप्रवासनको बाढी आएको दाबी गर्दै आएका छन् । तर सरकारी तथ्याङ्कहरूले उनीहरूको दाबीलाई भने पुष्टि गर्दैन।
कोन्फेडेराच्या का सह अध्यक्ष क्रिज्टोफ बोसाकले पूर्वी सहर बियालिस्टोक मा आयोजित भेलामा पोल्याण्डलाई अवैध आप्रवासनबाट बन्द नगरेसम्म, जबरजस्ती निष्कासन प्रक्रिया सुरु नगरेसम्म, र तथाकथित राजनीतिक शुद्धता त्याग नगरेसम्म, देशको सुरक्षा क्रमशः कमजोर हुँदै जाने बताएका छन ।
राजधानी वार्सा मा आप्रवासी विरोधी र समर्थन पक्षबीच केही मिटरको दूरीमै प्रतिस्पर्धी प्रदर्शनहरू भए पनि कुनै हिंसाको रिपोर्ट छैन । दक्षिणपन्थी नेताहरूले पोल्याण्डमा अवैध आप्रवासीले भरिने खतरा रहेको बताएका छन्।
पछिल्लो दशकमा आप्रवासन वृद्धि भए पनि सरकारी तथ्याङ्क अनुसार यो वर्षको आप्रवासन दर अघिल्ला वर्षहरूको तुलनामा कम छ।
यस महिनाको सुरुमा पोल्याण्डले जर्मनी र लिथुएनियासँगको सीमामा आवागमन जाँच कडा बनाएको थियो । जर्मनीले सन् २०२३ देखि पोल्याण्ड र चेक गणराज्यसँगको सीमामा आफ्ना नियन्त्रणहरू थप कडा बनाएको थियो।
मार्च महिनामा पोल्याण्डले बेलारुसको सीमाबाट आएका आप्रवासीहरूलाई शरणको लागि आवेदन दिन अस्थायी रूपमा रोक लगाएको थियो।








