अमेरिकाको भिसाका लागि २५० डलर धरौटी राख्नुपर्ने नियम छिट्टै लागु हुँदै
प्रकाशित मिति : श्रावण २, २०८२ शुक्रबार
अमेरिकाको भिजिटर लगायतका गैर आप्रवासी भिसाका लागि २५० डलर धरौटी राख्नुपर्ने नियम छिट्टै लागु हुने भएको छ । ट्रम्प प्रशासनबाट हालै लागू गरिएको वन बिग ब्यूटिफुल बिल एक्टको प्रावधान अनुसार भिसा इंटिग्रिटी शुल्कका नाममा उक्त रकम तिर्नुपर्नेछ।
यो शुल्क गैर आप्रवासी भिसा आवश्यक पर्ने सबै आगन्तुकहरूलाई लागू हुने र मिनाहा गर्न नसकिने जनाइएको छ । तर भिसाको नियम उल्लंघन नगर्ने यात्रुहरूले भिसा समाप्त भएपछि भने यो शुल्क फिर्ता पाउन सक्ने जनाइएको छ ।
सेप्टेम्बर ३०, २०२५ मा समाप्त हुने चालु आर्थिकका लागि यो शुल्क कम्तीमा २५० डलर हुनेछ। तर, होमल्यान्ड सेक्युरिटी सेक्रेटरीले यो शुल्क बढाउन स्वतन्त्र छन्।त्यसपछि हरेक बर्ष यो शुल्क मुद्रास्फीतिका आधारमा समायोजन गरिनेछ। अर्थात् हरेक बर्ष यो शुल्क बढ्दै जाने सम्भावना रहेको छ ।
यो शुल्क गैर आप्रवासी भिसा आवश्यक पर्ने सबै आगन्तुकहरूलाई लागू हुनेछ जसमा पर्यटक र अन्तर्राष्ट्रिय विद्यार्थीहरू लगायत समावेश छन्। भिसा जारी हुँदा नै यो शुल्क तिर्नुपर्नेछ । भिसा आवेदन अस्वीकृत भएकाहरूलाई भने यो शुल्क लाग्ने छैन।
यो शुल्कले अन्य भिसा शुल्कलाई प्रतिस्थापन गर्दैन । यो शुल्क नियमित भिसा शुल्कहरू बाहेकको शुल्क हो । उदाहरणका लागि भिजिटर भिसा वाहकले १८५ डलर भिसा शुल्क तिदैै आएकोमा अब यो शुल्क लागू भएपछि भिसा स्वीकृत हुनेले कुल ४३५ डलर तिर्नुपर्नेछ ।
आफ्नो पैसा फिर्ता पाउन भिसा वाहकहरूले भिसाका सर्तहरू पालना गर्नुपर्छ, जसमा अनधिकृत रोजगारी स्वीकार नगर्ने र भिसाको वैधता म्यादका अतिरिक्त ५ दिनभन्दा बढी अमेरिकामा नबिताउने समावेश छ। यो शुल्क अझै लागू गरिएको छैन।यो कहिलेदेखि सुरु हुन्छ भन्ने स्पष्ट छैन। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यो शुल्क लागु गर्न विदेश मन्त्रालयसँग समन्वय गर्ने जनाएको छ ।








