अमेरिकासँग परिचित युलिया युक्रेनको नयाँ प्रधानमन्त्री, खनिज सम्झौतामा निभाएकी थिइन् भूमिका
प्रकाशित मिति : श्रावण १, २०८२ बिहीबार
युक्रेनको संसद्ले पाँच वर्षपछि पहिलोपटक नयाँ प्रधानमन्त्री नियुक्त गरेको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको सिफारिसमा ३९ वर्षीया युलिया स्विरीडेन्को नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्।
यो कदम युद्धकालीन प्रशासनलाई सुदृढ बनाउने र आर्थिक तथा सैन्य सुधारको माध्यमबाट रुससँगको दीर्घकालीन संघर्षमा सन्तुलन ल्याउने उद्देश्यले गरिएको हो।
स्विरीडेन्कोले यसअघि सन् २०२१ देखि पहिलो उपप्रधानमन्त्रीका रूपमा कार्य गर्दै आएकी थिइन्। उनी एक अनुभवी प्राविधिक तथा आर्थिक विज्ञका रूपमा चिनिन्छिन्।
राष्ट्रपति जेलेन्स्कीले संसदलाई सम्बोधन गर्दै भने, “हाम्रो नयाँ सरकारसँग स्वदेशी हतियार उत्पादन ४० प्रतिशतबाट ५० प्रतिशत पुर्याउने, नियमन प्रणालीलाई सहज बनाउने र मित्रराष्ट्रहरूसँग आर्थिक सहकार्य बढाउने लगायतका ठूला जिम्मेवारीहरू छन् ।”
उनले यो सरकार परिवर्तन सन् २०२२ मा सुरु भएको रुसी आक्रमणपछि सबैभन्दा ठूलो क्याबिनेट फेरबदल भएको पनि बताए।
एक्समा पोस्ट गर्दै स्विरीडेन्कोले लेखिन्, “युद्धले ढिलाइको ठाउँ दिन्न। हामी छिटो र निर्णायक रुपमा अगाडि बढ्नेछौं।”
उनका अनुसार आगामी ६ महिनामा सरकारका तीन मुख्य प्राथमिकताहरू हुनेछन् । सेनालाई आवश्यक सामग्रीको भरपर्दो आपूर्ति, स्वदेशी हतियार उत्पादनको तीव्र विस्तार र सुरक्षाफौजको प्रविधिक क्षमता अभिवृद्धि गर्ने उनका मुख्य प्राथमिकता हुन् ।
स्विरीडेन्को अमेरिका र विशेषगरी ट्रम्प प्रशासनसँग पनि परिचित छिन्। उनले अमेरिकालाई युक्रेनको खनिज स्रोतमा प्राथमिक पहुँच दिने सम्झौता गर्दै द्विपक्षीय सम्बन्ध सुदृढ बनाएकी थिइन्।
राष्ट्रपति जेलेन्स्कीले संसदमा जानकारी दिंदै भने, “अमेरिकासँग थप रणनीतिक सम्झौताहरू निकट भविष्यमै हुनेछ, यद्यपि विस्तृत विवरण अहिले दिन सकिंदैन।”
हालका प्रधानमन्त्री डेनिस श्मिहाललाई राष्ट्रपति जेलेन्स्कीले रक्षा मन्त्रीका लागि सिफारिस गरिसकेका छन्। संसदले उनलाई चाँडै नै रक्षा मन्त्रालयको जिम्मेवारी दिने अपेक्षा गरिएको छ।
स्विरीडेन्कोको पक्षमा संसदका ४५० सिटमध्ये २६२ मत परेको थियो, जुन स्पष्ट बहुमत हो। यद्यपि युद्धकालको कारण संसदका बैठकहरू प्रत्यक्ष प्रसारण गरिंदैनन्।
सरकारको यो पुनर्गठनमा अर्थ, ऊर्जा, न्याय र युरोपेली एकीकरण मन्त्रालयका नेतृत्वमा समेत नयाँ नियुक्तिहरू हुनेछन्। यद्यपि धेरैजसो नयाँ मन्त्रीहरू राजनीतिक क्षेत्रमा पहिले देखिएका अनुहारहरू नै हुने अपेक्षा गरिएको छ।
स्विरीडेन्कोले सार्वजनिक वित्तको सम्पूर्ण लेखाजोखा गर्ने घोषणा गरेकी छन्। उनले ठूला निजीकरण प्रक्रिया अगाडि बढाउने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने र वास्तविक बचत गराउने सरकारी रणनीति प्रस्तुत गरेकी छन्।
युक्रेनको सन् २०२५ को बजेट घाटा झण्डै १९ अर्ब डलर पुग्न सक्ने अनुमान गरिएको छ। वैदेशिक सहायता घट्दै गएको अवस्थामा सरकारलाई रक्षा खर्चसँगै आन्तरिक विकासका लागि नयाँ स्रोतहरू खोज्नुपर्ने दबाब बढेको छ।
यद्यपि स्विरीडेन्कोको नियुक्ति स्वागतयोग्य मानिएको छ, केही विपक्षी सांसदहरूले नयाँ सरकार राष्ट्रपति कार्यालयबाट पूर्ण रूपमा निर्देशित हुने भन्दै आलोचना गरेका छन्।
होलोस पार्टीका सांसद यारोस्लाव झेलेज्न्याकले लेखे, “उनीहरूलाई के गर्नुपर्छ भन्ने निर्देशन राष्ट्रपति कार्यालयबाट दिइनेछ।”






