ट्रम्प प्रशासनद्वारा १७ अध्यागमन न्यायाधीशहरू बर्खास्त
प्रकाशित मिति : असार ३२, २०८२ बुधबार
अध्यागमन अदालतमा एसाइलम लगायतका मुद्दाको चर्को ब्याकलग कायम रहँदा ट्रम्प प्रशासनले हालैका दिनहरूमा देशभरका १७ अध्यागमन न्यायाधीशहरूलाई बर्खास्त गरेको छ । अध्यागमन अदालतका न्यायाधीशहरू र अन्य पेशेवरहरूलाई प्रतिनिधित्व गर्ने इन्टरनेशनल फेडेरेसन अफ प्रोफेसनल एन्ड टेक्निकल इन्जिनियर्सले विज्ञप्तिमा जनाएअनुसार १५ न्यायाधीशहरूलाई शुक्रबार र थप दुई जनालाई सोमबार कुनै कारण बिना बर्खास्त गरिएको थियो।
उनीहरूले देशभरका १० विभिन्न राज्यहरू क्यालिफोर्निया, इलिनोइस, लुइसियाना, मेरील्याण्ड, म्यासाचुसेट्स, न्यूयोर्क, ओहायो, टेक्सास, युटाह र भर्जिनियामा रहेका अध्यागमन अदालतहरूमा काम गरिरहेका न्याधिसहरुलाई बर्खास्त गरिएको हो । यस्तो बर्खास्ती आपत्तिजनक र सार्वजनिक हितविपरीत रहेको युनियनका अध्यक्ष म्याट बिग्सले बताएका छन् । संसदले ८०० अध्यागमन न्यायाधीशहरूलाई स्वीकृति दिएको अवस्थामा नयाँ न्यायाधिसहरु भर्ना सुरु गर्नुको साटो बर्खास्त गर्नु बेतुक रहेको युनियनको भनाई छ ।
अदालतहरू ट्रम्प प्रशासनको कडा अध्यागमन कारवाही कार्यान्वय प्रयासहरूको केन्द्रमा रहेको बेला न्यायाधिसहरु बर्खास्त गरिएको हो । आइसका अधिकारीहरूले अदालतमा कार्यवाहीका लागि उपस्थित हुने आप्रवासीहरूलाई पक्राउ गरिरहेका छन्। जसले शरण खोज्नेहरू र अदालतमा उपस्थित हुने आप्रवासीहरूमा डर पैदा गरेको छ।
न्यायाधीशले सरकारी वकिलको अनुरोधमा आप्रवासीविरुद्धको मुद्दा खारेज गर्ने र त्यसैबेला हलवेमा पर्खेका आइसका अधिकारीहरुले आप्रवासी अदालतबाट बाहिर निस्कनासाथ पक्राउ गरी तुरुन्तै देशनिकालाको प्रक्रियामा लैजाने गरेका छन् । अध्यागमन अदालतका न्यायाधीशहरूले लगभग ३५ लाख मुद्दाहरूको ठूलो ब्याकलगको सामना गरिरहेका छन्। मुद्दाहरूको अन्तिम निर्धारणमा वर्षौं लाग्न लाग्ने गरेको छ भने न्यायाधीश र वकिलहरूले प्रायः मुद्दाको अन्तिम सुनुवाइ एक वर्षभन्दा बढी समयपछि तय गरेका छन् ।
फौजदारी अदालतहरूभन्दा फरक अध्यागमन अदालतहरूमा सरकारले सबैलाई वकिल उपलब्ध गराउनु पर्दैन । आप्रवासीहरूले आफ्नै वकिल राख्न सक्छन् तर यदि उनीहरूले वकिल राख्न नसकेमा आफ्नो भनाई राख्न दोभाषेको प्रयोग गरी आफैं प्रतिनिधित्व गर्छन्।
बर्खास्त गरिएका मध्ये एक न्यायाधीशलाई डेमोक्रेटिक सांसदलाई केही हप्ता अघि शिकागो आप्रवासन अदालतको भ्रमण गर्दा कुराकानी गरेको कारणले सजाय दिइएको दावी इलिनोइसका डेमोक्रेटिक सिनेटर डिक डर्बिनले गरेका छन् । सांसदलाई भेटे लगत्तै ती न्यायाधीशले डिपार्टमेन्ट अफ जस्टिसबाट इमेल प्राप्त गरेको बताएका थिए, जसमा सांसदका कार्यालयहरूसँगको सबै संचार मुख्यालयमार्फत गर्नुपर्ने र अध्यागमन न्यायाधीशहरूले सांसदका सदस्यहरूसँग प्रत्यक्ष कुराकानी गर्न नहुने उल्लेख थियो।
हालै पारित विधेयकअन्तर्गत अध्यागमन कारवाहीलाई सशक्त बनाउन १७० बिलियन डलर प्रयोग गरिनेछ, जसमा अदालतहरूले ३ दशमलव ३ बिलियन डलर प्राप्त गर्नेछन्। यो रकम न्यायाधीशहरूको संख्या ८०० पुर्याउन र उनीहरूलाई सहयोग गर्न थप कर्मचारी भर्ना गर्न प्रयोग हुनेछ। तर ट्रम्प प्रशासनले कार्यकाल शुरू गरेयता १०३ भन्दा बढी न्यायाधीशहरू या त बर्खास्त भएका छन् या त स्वेच्छाले बाहिरिएका छन्।
युनियनले न्यायाधिसको बर्खास्तीले अध्यागमन अदालतको प्रक्रियालाई गति दिनुको सट्टा ब्याकलगलाई झन् खराब बनाउने बताएको छ। युनियनका अनुसार नयाँ आप्रवासन अदालतका न्यायाधीशहरू भर्ना गर्न, नियुक्त गर्न र तालिम दिन एक वर्षसम्म लाग्न सक्छ। हाल युनियनको तथ्यांकअनुसार करिब ६०० अध्यागमन न्यायाधीशहरू छन्।






