विश्वकै सबैभन्दा पाका म्याराथन धावक सिंह रहेनन्, मृत्युको कारण यस्तो रहेछ
प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार
विश्वकै सबैभन्दा पाका म्याराथन धावक भारतका फौजा सिंहको मृत्यु भएको छ । उनको ११४ वर्षको उमेरमा कार दुर्घटनामा परेर मृत्यु भएको हो ।
विश्वकै सबैभन्दा पाका म्याराथन धावक सिंहको कारको ठक्करबाट मृत्यु भएको हो । सन् १९११ मा भारतको ग्रामीण क्षेत्रमा जन्मिएका फौजा सिंह पछि लण्डन बसाईँ सरेका थिए ।
८० वर्षको उमेरपछि म्याराथन दौड सुरु गरेका सिंहले ‘पगधारी आँधी’ भन्ने उपनाम पाएका थिए । उनले कुल ९ वटा म्याराथन २६.२ माइल दौड पुरा गरेका थिए।
यद्यपि जन्म प्रमाणपत्र नहुँदा उनका कीर्तिमानहरू गिनिज वर्ल्ड रेकर्डले औपचारिक रूपमा मान्यता दिएको थिएन । पञ्जाब राज्यको ब्यास गाउँ नजिक सडकमा हिँडिरहेका बेला उनलाई अज्ञात गाडीले ठक्कर दिएको भारतीय प्रहरीले जनाएको छ ।
जालन्धर जिल्लाको श्रीमन्न अस्पतालमा भर्ना गरिएपछि टाउको र छातीमा गम्भीर चोट लागेका कारण उनले ज्यान गुमाएका जालन्धर ग्रामीण वरिष्ठ प्रहरी अधीक्षक हरविन्दर सिंह विर्कले जानकारी दिए।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फौजा सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनी एक अद्वितीय खेलाडी र अपार सङ्घर्षशीलता तथा आत्मबलको प्रतीकका रुपमा रहेको बताएका छन ।
फौजा सिंहले पत्नी र छोराको निधनपछि बेलायत बसाईँ सरेका थिए । त्यसपछि ८९ वर्षको उमेरमा उनले दौड सुरु गरेका थिए। सिंहले १०२ वर्षको दिएको अन्तर्वार्तामा दौडले मलाई फेरि बाँच्न सिकायो, सबै पीडा र दुःखलाई भुलाइदियो भनेर भनेका थिए ।
केवल केही महिनाको तालिमपछि उनले पहिलो म्याराथन दौडेका थिए । २००३ मा टोरोन्टो वाटरफ्रन्ट म्याराथनमा उनले आफ्नो व्यक्तिगत कीर्तिमान ५ घण्टा ४० मिनेटमा पूरा गरेका थिए।
२०११ मा उनी फेरि टोरोन्टो फर्किए । जहाँ उनले ८ घण्टा ११ मिनेट ६ सेकेन्डमा म्याराथन पुरा गर्दै सय वर्ष उमेरमा म्याराथन पूरा गर्ने पहिलो व्यक्ति बने।
बाल्यकालमा पाँच वर्ष पुग्दासम्म हिँड्न नसक्ने फौजा सिंहले यो सफलता हासिल गर्नु अद्वितीय थियो।
उनको अन्तिम दौड सन् २०१३ मा हङकङको १० किलोमिटरको रूटमा भएको थियो । त्यसको एक वर्ष अघि उनले २०१२ लण्डन ओलम्पिकको जोत लिएर दौडिएका थिए।
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले जन्म प्रमाणपत्र नहुँदा उनको उपलब्धिलाई औपचारिक मान्यता नदिए पनि उनलाई बेलायतकी रानी एलिजाबेथले सयौं जन्मदिनमा बधाई पत्र पठाएकी थिइन्।






