अमेरिकी चर्चित टक शो होस्ट रोसी ओ’डोनेलको नागरिकता खोस्ने ट्रम्पको चेतावनी, यस्तो छ कारण


प्रकाशित मिति : असार २९, २०८२ आईतबार

तस्बिर : विकिपिडिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चित टक शो होस्ट तथा अभिनेत्री रोसी ओ’डोनेलको अमेरिकी नागरिकता खोस्ने चेतावनी दिएका छन्। उनले ट्रुथ सोसलमार्फत लेख्दै ओ’डोनेललाई “मानवताको लागि खतरा” भन्दै उनी “आयरल्याण्डमै बस्नुपर्छ” भनेका छन्।

यो विवाद ट्रम्प र ओ’डोनेलबीच चलेको लामो वर्षको सामाजिक सञ्जाल युद्धको पछिल्लो कडी हो। हालै जुलाई ४ मा आएको विनाशकारी टेक्सास बाढीपछिको सरकारको मौसम पूर्वानुमान एजेन्सीहरूप्रतिको लापरवाहीको आलोचना गर्दै ओ’डोनेलले एउटा टिकटक भिडियो पोस्ट गरेकी थिइन्। त्यस भिडियोमा उनले ११९ जनाको मृत्यु भएकोप्रति दुस्ख व्यक्त गर्दै भनिन्, “जब राष्ट्रपतिले प्रारम्भिक चेतावनी प्रणाली र मौसम पूर्वानुमान क्षमताहरूलाई काटछाँट गर्छन्, यस्तै भयावह परिणामहरू हामीले हरेक दिन देख्न थाल्नेछौं।”

ट्रम्पले यसका जवाफमा लेखे, “रोसी ओ’डोनेल हाम्रो महान राष्ट्रको हितमा छैनन्। त्यसैले म उनको नागरिकता खोस्ने गम्भीर विचार गरिरहेको छु। उनी मानवताको लागि खतरा हुन् र आयरल्याण्डमा बसे राम्रो। गड ब्लेस अमेरिका !”

तर, अमेरिकी कानुनअनुसार, अमेरिकी भूमिमा जन्मिएको व्यक्तिको नागरिकता राष्ट्रपतिले खोस्न सक्दैनन्। रोसी ओ’डोनेल सन् १९६२ मा न्यूयोर्कमा जन्मिएकी हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोसी ओ’डोनेल ट्रम्पको आलोचक हुन्। उनले यस वर्षको सुरुमै आफ्नो १२ वर्षीय छोरासहित आयरल्याण्ड सरेकी थिइन्। मार्चमा उनले एक टिकटक भिडियोमा भनेकी थिइन्, “जब सबै नागरिकहरूलाई अमेरिका सुरक्षित लाग्नेछ र समान अधिकार हुनेछ, म मात्र फर्कनेछु।”

ट्रम्पप्रतिको जवाफमा ओ’डोनेलले इन्स्टाग्राममा दुई पोस्ट गर्दै लेखिन्, “राष्ट्रपति ट्रम्प मलाई त्यसैले मन पराउँदैनन्, किनभने म उनीले प्रतिनिधित्व गर्ने सबै कुराको प्रत्यक्ष विरोधमा उभिएकी छु।”

दुवैबीचको झगडाको सुरुवात २००६ मा भएको थियो, जब ओ’डोनेलले ‘द भ्यू’ कार्यक्रम होस्ट गर्दै गर्दा मिस यूएसए प्रतियोगिताको विवादमा ट्रम्पको भूमिकाको व्यंग्य गरेकी थिइन्। ट्रम्प त्यसबेला प्रतियोगिताको मालिक थिए।

टेक्सासको जुलाई ४ बाढी अमेरिकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आएको थियो, जसले रातारात विनाश निम्त्यायो। कम्तीमा १२० जनाको मृत्यु भएको छ, जसमा दर्जनौं बालबालिकाहरू छन्। बाढीको समयमा प्रारम्भिक चेतावनी नपाएको भन्दै राज्य र संघीय सरकारको भूमिकाप्रति गम्भीर प्रश्न उठेका छन्।

शुक्रबार ट्रम्पले टेक्सास भ्रमण गर्दै संघीय निकायहरूले “अविश्वसनीय काम गरेको” दाबी गरे। उनले भने, “जुन परिस्थितिमा हामी परेका थियौं, त्यसलाई हेर्दा हाम्रो प्रशासनले उल्लेखनीय कार्यसम्पादन गरेको हो।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com