रुसी आक्रमणको बीचमा युक्रेनी डाक्टरले गरे बालिकामा मुटुको सफल प्रत्यारोपण
प्रकाशित मिति : असार २७, २०८२ शुक्रबार
रूसी आक्रमणको बीचमा डाक्टरले युक्रेनको किभमा बालिकालाई मुटुको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेका छन ।
किभमा बमबारीको आवाज गुन्जिरहेको बेला बालिकामा मुटुको प्रत्यारोपण गर्न चिकित्सकहरु सफल भएका थिए ।
जीवन बचाउन डाक्टरसँग केवल केही घण्टा मात्र बाँकी रहेकी गम्भीर अवस्थामा रहेकी बालिकाको मुटुको सफल प्रत्यारोपण गर्न उनीहरु सफल भएका हुन ।
उक्त बालिका वर्षौँदेखि मुटुरोगसँग संघर्ष गर्दै थिइन् । उनको स्वास्थ्य केही दिनअघि अचानक बिग्रिएपछि, नयाँ मुटु नै उनको जीवनको अन्तिम आशा बन्यो ।
उत्तरी किभमा एकजना बालबालिकाबाट दानमा प्राप्त मुटु जब उपलब्ध भयो, डाक्टर टोडुरोभले रूसी हमला रोकिएला भनेर कुर्न चाहेनन् ।
‘हामीसँग समय थिएन । मुटु बोक्दै हामी सिधै निक्लियौं’ उनले भने । रूसी सेनाले हालै किभमा हमला तीव्र पारेको छ । बिहीबार रातभरमा मात्र ४०० भन्दा बढी ड्रोन र १८ वटा मिसाइलहरू प्रहार गरिएका थिए।
मानिसहरूलाई बंकर र सुरक्षित स्थानमा जान अनुरोध भइरहेका बेला, डाक्टर टोडुरोभ र उनको टोलीले ओख्मात्दित बाल अस्पतालबाट किभको हार्ट इन्स्टिच्युटसम्म १० माइल यात्रा पूरा गरेका थिए ।
त्यती बेला रूसी मिसाइल र ड्रोनको वर्षा भइरहेको थियो । त्यो यात्रा निकै खतरनाक थियो । हार्ट इन्स्टिच्युटमा पुगेपछि, टोडुरोभले आफ्नो टोलीको नेतृत्व गर्दै ती बालिकामा मुटुको प्रत्यारोपण गरे ।
सार्वजनिक गरेको भिडिओमा, नयाँ मुटु बालिकाको छातीभित्र धड्किरहेको देखिन्छ। “मुटु काम गरिरहेको छ, रक्तचाप स्थिर छ । हामी आशा गर्छौं कि उनले अब दीर्घ र स्वस्थ जीवन बिताउनेछिन्,” डाक्टरले भने।
दान गरिएको मुटु ४ वर्षीया बालिकाको थियो । जसलाई गम्भीर चोटपटकपछि ब्रेन डेड घोषणा गरिएको थियो। उनकी आमा आफैं स्वास्थ्यकर्मी भएकीले अंगदान गर्न स्वीकृति दिइन्।
त्यसै समयमा, उनका किड्नीहरू १४ वर्षका केटालाई र कलेजो १६ वर्षकी किशोरीलाई प्रत्यारोपण गरिएको थियो । ती दुई बिरामीहरू पनि गम्भीर अवस्थामा थिए ।
यूक्रेनी ट्रान्सप्लान्ट समन्वय केन्द्रले भन्यो, “तीमध्ये दुई बिरामीको अवस्था अत्यन्त गम्भीर थियो। यदि प्रत्यारोपण नभएको भए, उनीहरू केही दिन वा हप्ताभित्र ज्यान गुमाउने थिए।”








