बेलायतले डुङ्गाबाट प्रवेश गर्ने आप्रवासीहरूलाई फ्रान्स फर्काउने
प्रकाशित मिति : असार २६, २०८२ बिहीबार
बेलायतले साना डुङ्गाबाट बेलायत प्रवेश गर्ने आप्रवासीहरूलाई फ्रान्स फर्काउने भएको छ । प्रधानमन्त्री कीयर स्टार्मरले यो नयाँ पाइलट योजना अर्को साताबाट सुरु हुने घोषणा गरेका हुन ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोंसँग तीन दिने राजकीय भ्रमणको अन्त्यमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै, स्टार्मरले यो योजना लागू भएसँगै साना डुङ्गाबाट बेलायत आउनेहरु रोकिने बताए ।
नयाँ योजनाअनुसार, साना डुङ्गाबाट बेलायत आउने केही आप्रवासीहरूलाई फ्रान्स फर्काइनेछ, र त्यसको सट्टामा बेलायतले बराबर संख्यामा फ्रान्सबाट सुरक्षा जाँचपछि शरणार्थीहरू स्वीकृत गर्नेछ ।
योजना अनुसार प्रति हप्ता ५० जना सम्म फर्काइने चर्चा भए पनि, प्रधानमन्त्री स्टार्मरले निश्चित संख्या पुष्टि गरेका छैनन् । उक्त सम्झौता सफल भए थप विस्तार गरिने बताइएको छ।
प्रधानमन्त्रीले मानव तस्करहरूको धन्दा तोड्ने प्रयासमा यो योजनाले मद्दत गर्ने बताए। “अवैध आप्रवासन एउटा विश्वव्यापी संकट हो, युरोपेली संघको समस्या हो, र हाम्रो दुई राष्ट्रको साझा चुनौती हो ” उनले भनेका छन ।
सन् २०१८ देखि हालसम्म १ लाख ७० हजार भन्दा बढी मानिस साना डुङ्गाबाट बेलायत प्रवेश गरिसकेका छन् । यस वर्ष २०२५ को पहिलो ६ महिनामै २० हजार भन्दा बढी बेलायत आइपुगेका छन्।
पाइलट योजना सुरुवातमा वयस्क आप्रवासीहरूमा केन्द्रित हुनेछ । फ्रान्समा बस्ने र बेलायतमा शरण खोज्ने इच्छुकले अनलाइन आवेदन दिन सक्नेछन् ।
मानव तस्करीबाट प्रभावित देशका नागरिक र बेलायतसँग पारिवारिक सम्बन्ध भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ।
राष्ट्रपति माक्रोंले यो योजनाले संख्यामा भन्दा पनि मानसिक प्रभाव पर्न सक्ने बताएका छन । उनले भनेका छन “ब्रेक्जिटले बेलायतलाई अवैध आप्रवासन रोक्न झन गाह्रो बनाएको छ ।
कीयर स्टार्मरले प्रधानमन्त्री बनेपछि रुवाण्डा योजना रद्द गर्दै अवैध आप्रवासन रोक्न ‘साझा प्रयास र नयाँ रणनीति’ आवश्यक रहेको बताएका थिए ।






