अमेरिकामा टिकटकको खरिद सम्झौता अनिश्चित, ट्रम्पको दाबीमा चीनको घुमाउरो प्रतिक्रिया
प्रकाशित मिति : असार २५, २०८२ बुधबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक अमेरिकी स्वामित्वमा ल्याउने सम्झौता “प्रायः टुंगिएको” दाबी गरेपछि चीन सरकारले भने घुमाउरो प्रतिक्रिया दिएको छ । चीनको पछिल्लो धारणाले खरिद सम्झौताको अनिश्चिततालाई अझै बढाएको देखिएको छ ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा टिकटकसँग सम्बन्धित मुद्दामा चीनले आफ्नो सिद्धान्त र धारणा धेरै पटक स्पष्ट गरिसकेको बताइन । तर उनले ट्रम्पको पछिल्लो दाबीबारे कुनै थप विवरण भने दिइनन्।
टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्स लाई आगामी सेप्टेम्बर १७ सम्म अमेरिकामा बन्द हुने कि त्यसको स्वामित्व अमेरिकी कम्पनीलाई दिने भन्ने दबाब छ ।
सन् २०२४ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षाको चिन्ताका आधारमा ‘बिक्री वा प्रतिबन्ध’ कानूनमा हस्ताक्षर गरेका थिए। हालको राष्ट्रपति ट्रम्पले यो कानून कार्यान्वयनमा ढिलाइ गर्दै आएका छन् । यद्यपि कानूनी समयसीमा नजिकिँदै छ।
चीन सरकारले बलजफ्ती बिक्री लाई समर्थन नगर्ने स्पष्ट पारेको छ । सन् २०२३ मा चीनको वाणिज्य मन्त्रालयले पहिलो पटक प्रत्यक्ष प्रतिक्रिया दिँदै टिकटकको बिक्रीले “प्रविधि निर्यात” समेट्ने भएकाले त्यसमा चीन सरकारको स्वीकृति आवश्यक पर्छ भनेको थियो ।
विशेष गरी टिकटकको एल्गोरिदम यसको अत्यधिक लोकप्रियताको मुख्य कारण मानिन्छ । चीन सरकारको नियन्त्रणमा रहेको ‘निर्यातयोग्य प्रविधि’ अन्तर्गत यो पर्दछ ।
ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै “हामीसँग प्रायः सम्झौता भइसकेको छ, सोमवार वा मंगलवार चीनसँग कुराकानी सुरु हुनसक्छ ” भनेका थिए ।
तर उनले थपे, “म चीनले सम्झौता पारित गर्छ भन्नेमा ढुक्क छैन।”
उनले सम्भवतः चिनियाँ राष्ट्रपति सी जिनपिङ वा उनका प्रतिनिधिसँग वार्ता हुने बताएका थिए । ट्रम्पले जुन २५ मा टिकटकलाई किन्ने अमेरिकी समूह पहिल्यै तय भइसकेको बताएका थिए ।
तर अप्रिल २ मा ट्रम्प प्रशासनले चीनमाथि ५४ प्रतिशत सम्मको नयाँ आयात शुल्क घोषणा गरेपछि चीन सम्झौता प्रक्रियाबाट पछि हटेको हो।
हालको अमेरिकी कानूनअनुसार बाइटडान्सको स्वामित्व नयाँ सम्झौतामा २० प्रतिशत भन्दा बढी हुन नपाउने र एल्गोरिदम वा डाटा साझेदारीमा कुनै पनि समन्वय गर्न नपाउने उल्लेख गरिएको छ।
चीनले अमेरिकी चिप प्रविधिमाथिको निर्यात नियन्त्रण र भन्सार शुल्कका बाबजुद पनि एल्गोरिदमको निर्यात अनुमतिपत्र दिन्छ भन्ने सम्भावना निकै न्यून रहेको विश्लेषकहरुको भनाई रहेको छ ।
टिकटकले अमेरिकी प्रयोगकर्ताहरूका लागि नयाँ संस्करणको एप बनाइरहेको छ । यो एप सेप्टेम्बरको समयसीमा अघि सार्वजनिक हुनेछ।
प्रयोगकर्ताहरूले नयाँ एप डाउनलोड गरेपछि मात्रै प्लेटफर्म प्रयोग गर्न पाउनेछन् । पुरानो एप २०२६ को मार्चसम्ममा पूर्ण रूपमा बन्द हुने बताइएको छ।
अमेरिकामा १७ करोड भन्दा बढी टिकटक प्रयोगकर्ताहरु रहेको अनुमान गरिएको छ ।








