एसियाली राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन मलेसिया जाँदै अमेरिकी विदेशमन्त्री रुबियो
प्रकाशित मिति : असार २३, २०८२ सोमबार
तस्बिर : फाइल
अमेरिकी विदेशमन्त्री मार्को रुबियो यसै हप्ता मलेसिया भ्रमणमा जाँदै छन्। उनी एसियाको आफ्नो पहिलो औपचारिक भ्रमण अन्तर्गत दक्षिण–पूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान)को मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुनेछन्। अमेरिकी विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।
विदेशमन्त्री रुबियो जुलाई ८ देखि १२ सम्म मलेसिया भ्रमणमा रहनेछन्। क्वालालम्पुरमा हुने यस क्षेत्रीय सम्मेलनमा उनले आसियानका १० सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग संयुक्त बैठकमा भाग लिने कार्यक्रम छ। साथै, उनले मलेसियाका उच्च सरकारी अधिकारीहरूसँग द्विपक्षीय भेटघाट पनि गर्नेछन्।
यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा इन्डो–प्यासिफिक क्षेत्रप्रति पुनः ध्यान केन्द्रित गर्ने रणनीतिक पहल अन्तर्गत भएको बताइएको छ। ट्रम्प प्रशासन हालसम्म मुख्य रूपमा मध्यपूर्व र युरोपका द्वन्द्व र कूटनीतिक सरोकारमा केन्द्रित रहँदै आएको थियो। तर, अब इन्डो–प्यासिफिक क्षेत्रलाई अमेरिकी हितका लागि अत्यन्त महत्त्वपूर्ण मानिँदैछ।
विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार, “रुबियोले पूर्वी एसिया, आसियान र सम्पूर्ण इन्डो–प्यासिफिकप्रति अमेरिकी प्रतिबद्धतालाई पुनः पुष्टि गर्नेछन्। यो केवल औपचारिकता हैन, यो अमेरिका कै समृद्धि र सुरक्षासँग प्रत्यक्ष सम्बन्धित छ।”
रुबियोको भ्रमणको क्रममा व्यापारसम्बन्धी विषयवस्तुहरू पनि चर्चामा आउने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। ट्रम्प प्रशासनले अघि सारेको ‘अमेरिका फर्स्ट’ रणनीतिले विभिन्न राष्ट्रहरूसँगको व्यापार सम्बन्धलाई पुनः सन्तुलित गर्न जोड दिँदै आएको छ। रुबियोले यस सन्दर्भमा अमेरिका र आसियान राष्ट्रहरूबीचको व्यापार सन्तुलन तथा पारस्परिक हितका विषयमा पनि कुरा उठाउने अपेक्षा गरिएको छ।
आसियान राष्ट्रहरू अमेरिकी राष्ट्रपति ट्रम्पको विश्वव्यापी भन्सार नीति र संरक्षणवादी रणनीतिबाट केही हदसम्म चिन्तित देखिएका छन्। उनीहरूलाई ट्रम्प प्रशासनको ‘अमेरिका फर्स्ट’ दृष्टिकोणले अमेरिका दक्षिण–पूर्वी एसियाली क्षेत्रसँग कति गहिरो कूटनीतिक र आर्थिक संलग्नता राख्छ भन्नेमा शंका उत्पन्न गराएको छ।
वाशिङ्टनस्थित रणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्र (सिएसआइएस) का दक्षिण–पूर्वी एसिया कार्यक्रम निर्देशक ग्रेग पोलिङले भने, “इन्डो–प्यासिफिक क्षेत्र अमेरिकी राष्ट्रिय सुरक्षाका लागि प्रमुख प्राथमिकता हो भन्ने कुरामा यहाँका देशहरू ढुक्क हुन चाहन्छन्। त्यसका लागि स्पष्ट आश्वासन आवश्यक छ।”
विदेश मन्त्रालयका अधिकारीहरूले रुबियो यस भ्रमणमार्फत अमेरिका आफ्ना मित्र राष्ट्रहरूसँग विश्वसनीय साझेदारीमा अमेरिका प्रतिबद्ध रहेको सन्देश दिन चाहन्छन्। “हामी यहाँ छौं, हामी प्रतिबद्ध छौं । किनभने यसले अमेरिकालाई समृद्ध बनाउँछ र सुरक्षित बनाउँछ,” अधिकारीले भने।






